Logo

शनिवार, आश्विन २४ गते २०८३

images

निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाही माग

निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाही माग

दैनिकी न्यूज

११, मंसिर २०७७
निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाही माग
images

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलबार राति १०ः१५ बजे रोल्पा प्यूठान जोड्ने घोडाखोलाको पुल निर्माण आयोजना किनारामा पार्किङ गरी राखिएका स्काभेटरहरुमा आगजनी गरिएको महासङ्घले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।


जलजला/आँशु/जय माँ निर्माण सेवाका सञ्चालक तथा महासङ्घका कार्यसमिति सदस्य बालाजु श्रेष्ठका स्काभेटरहरुमा अज्ञात समूहबाट आगजनी गरिएको महासङ्घले जनाएको छ । आगजनीबाट चार वटा स्काभेटर जलेर नष्ट भएको र बाँकी एउटामा आंशिक क्षति पुगेको महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


रा १ क ३६७ नं को स्काभेटरमा आगजनी गरिँदा करोडांैको क्षति भएको महासङ्घले जनाएको छ । ती स्काभेटर कल्याणकोट—कालाकाटे गढ्वा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु कान्छाराम कन्स्ट्रक्सन जेभीले गरिरहेको छ ।


निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटक–पटक प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत अज्ञात समूहको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासङ्घको भनाइ छ ।

यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी महासङ्घ सशक्त आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासङ्घले माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासङ्घले पुनः सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ ।रासस 

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १३:४४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology