काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको नयाँ नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई आएसँगै एसएसपी भीमप्रसाद ढकाल विदा भएका छन्।
ट्राफिक प्रहरी महाशाखा प्रमुख हुँदा प्रहरी वरिष्ठ उपरीक्षक ढकालले ४ लाख ४२ हजार सवारीसाधनलाई कारबाही गरी २८ करोड ७१ लाख राजस्व संकलन गरेका छन्।
ढकाल २०७६ भदौ १८ गतेदेखि हालसम्म महाशाखा प्रमुख रहेका थिए। आफ्नो कार्यावधिमा ढकालले ट्राफिक सचेतनासँगै नियम नमान्ने सवारीसाधनलाई कारबाही गर्न हिच्किचाएनन्।
ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाको सवारी व्यवस्थापन गर्दै आएको छ।
ढकालले आफ्नो कार्यकालमा भीभीआईपी भ्रमणका सवारी कुशल व्यवस्थापन गरेको उल्लेख गरेका छन्। उनले चीन तथा बंगलादेशका राष्ट्रपतिको भ्रमण सवारी त्रुटिरहित भएको बताएका छन्।
त्यसैगरी सडकमै गर्नुपर्ने खेलहरूलगायत विभिन्न रङ्गशालाहरूमा भएको तेह्रौँ दक्षिण एसियाली खेलकुदको उद्घाटन र समापन लगायत खेल अवधिभर विशेष ट्राफिक व्यवस्थापन र भ्रमण वर्ष २०२० को औपचारिक उद्धघाटनमा विशेष ट्राफिक व्यवस्थापन योजना तयार गरी व्यवस्थित र सुरक्षित ट्राफिक व्यवस्थापन गरेको उनको दाबी छ।
ढकालले आफ्नो कार्यकालमा दीर्घकालीन प्रभाव पर्ने ट्राफिक सचेतनामा बढी ध्यान दिएको बताएका छन्। ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी चेतना अभिवृद्धि गरी सुरक्षित यात्रा गराउनका लागि ३ महिने ट्राफिक उज्यालो अभियान कक्षा सञ्चालन गरी १ लाख ३४ हजार व्यक्तिलाई लाभान्वित भएको उनको भनाइ छ।
त्यसैगरी गीत संगीतको माध्यमबाट जेब्राक्रसिङ, आकाशेपुलको प्रयोग, सडक संकेतको पालना, मापसे गरी सवारी नचलाउने विषयमा सारङ्गी टोली, जथाभावी बाटो काट्ने पैदलयात्रीलाई सोही स्थानमै २० मिनेटको सचेतना कक्षा, ट्राफिक सचेतनाका विभिन्न माध्यम ट्राफिकमैत्री बोर्ड, प्लेकार्ड, सूचनामूलक बोर्ड, अडियो भिडियो प्रदर्शनी गरिएको लगायतलाई आफ्नो उपलब्धि देखाएका छन् ।
उनको कार्यकालमा मादक पदार्थ सेवन गर्ने र लेन अनुशासन पालना नगर्ने ५३ हजार ८८ जना सवारी चालकहरुलाई १ घण्टे ट्राफिक सचेतना कक्षा, उपत्यकाको विभिन्न स्थानका काल्पनिक ट्राफिक प्रहरी, स्थानीय समुदायलाई ट्राफिक व्यवस्थापनमा अपनत्व ग्रहण गराउन काठमाण्डौं सुविधानगर क्षेत्रलाई ‘नमूना ट्राफिक ग्राम’ निर्माण गरिएको छ।
उनी महाशाखा प्रमुख रहँदा काठमाडौं उपत्यकामा करिब १२ हजार सवारी दुर्घटना भएका छन्। जसबाट २ सय बढीले ज्यान गुमाएका छन् भने ३ सय बढी गम्भीर घाइते भएका छन्।
त्यस्तै ढकालले सवारीसाधन तथा कागजपत्र हराइ अनलाइनबाटै उजुरी वा निवेदन दिने व्यवस्था गरेका छन्।