काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ।
यही कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएकी उनको बुधबार बिहान निधन भएको हो।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले सामाजिक सञ्चालमा स्टाटस लेखि महराका श्रीमतीको निधन भएको पुष्टि गरेका हुन् ।
यही दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पताल भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिकमा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
कात्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।
विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । सीता महराको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो। कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।