ललितपुर । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले आज भेल्पा–प्रगतिनगर टोल सुधार समितिलाई करिब २०० वटा गुर्जोको बेर्ना निःशुल्क हस्तान्तरण गरेका हुन् ।
आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले गुर्जोको बिरुवा देशव्यापी निःशुल्क वितरण गरिएको सुनाए । गुर्जो मानव स्वास्थ्यका लागि बहुतै उपयोगी र गुणकारी भएको राजलवटको भनाई छ । गुर्जोको नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्ने उनको दाबी छ ।
कार्यक्रममा वडा नं. १५ का महिला वडा सदस्य शशीकला सुवेदी, टोल सुधार समितिका अध्यक्ष रामबहादुर थापा, टोल सुधारको पूर्व अध्यक्ष ऋषि भेटवाल, नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्की, नामी साप्ताहिकका सम्पाददता नारायण लिंखा देवान लगायत स्थानीय बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
प्राप्त गुर्जोको बेर्ना टोलीबासीलाई निःशुल्क आजैदेखि वितरण गर्ने टोल सुधार समितिका अध्यक्ष थापाले बताए ।
गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकी लगायत रोगका लागि औषधीको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन ।