काठमाडौं । इन्सपेक्टर योगेन्द्र तिमिल्सिना वागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । इन्स्पेक्टर तिमिल्सिना इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा कार्यरत छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
असोज महिनाको विभिन्न समयमा ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागु औषधसहित मानिस पक्राउ गरेको, डलर साट्ने बहानामा ठगी गर्ने समूह पक्राउ गरेकाले उनलाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिएका छन् ।
प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको छ ।