काठमाडौं । आज विजया दशमी पर्व । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरुको ठूलो चाड हो दशैँ । यतिबेला घरघरमा दशैं आएको छ । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ ।
शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ । नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगिचङगी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिदै गरेका अधबैँसे ।
हो, साँच्चै दशैँ खास छ ।
आज विजया दशमी । असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन नौ देवीको पूजापाठ गरि आज विजय दशमी मनाइँदै छ ।
र्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले बताए ।
“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भने ।