काठमाडौँ । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।
प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।
आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।
कोरोनाका कारण तलेजु भवानी मन्दिर नखुल्ने
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने भएको थियो । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ ।वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो । तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै लाममा बस्ने गरेका थिए । लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ । महानवमीका अवसरमा आइतवार नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ ।