ललितपुर । ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष दिपककुमार बिष्टको निधन भएको छ । रुघाखोकी भएर ११ दिनदेखि उपचाररत बिष्टको ललितपुरकै भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा उपचारकै क्रममा शुक्रबार राती ८ बजे मृत्यु भएको हो । उनलाई निमोनिया भएको र पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । सोही संक्रमणको कारण उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अन्य रोगको संक्रमण नभएका विष्टको मृत्युको कारण कोरोना नै रहेको छ । बारमा व्यवसायिक मर्यादा कायम गर्न सक्षम बिष्टको निधनले मुलुकले कुशल अधिवक्ता गुमाएको छ । ललितपुरको गोदावरी नगरपालिका ९, छम्पी निवासी विष्ट ४६ वर्षका थिए । उनको परिवारमा छोरा, छोरी र श्रीमती छन् । उनको निधनप्रति ललितपुरका राजनीतिक दल, पत्रकार लगायत देशभरका अधिवक्ताहरुले दुख व्यक्त गरेका छन् ।