काठमाडौं । ५ नंम्बर प्रदेशको नाम ‘लुम्बिनी प्रदेश’ रहने भएको छ ।
प्रदेश सभाको मंगलवारको बैठकमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो ।
बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोनामले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयङ्गम गर्दै साझा चिनारीको रूपमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत पर्यो ।
प्रदेशको राजधानी दाङको राप्ती उपत्यका देउखुरी (भालुवाङ) तोक्ने प्रस्ताव भने दुईतिहाइ बहुमतले पारित भएको छ । कुल खसेको ८२ मतमध्ये प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत परेको छ ।