काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री केपी शर्माले प्रक्रिया अघि बढाएका छन् ।
प्रधानमन्त्री ओली निकट एक स्थायी समिति सदस्यले दिएको जानकारी अनुसार घिसिङलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्न आइतबार मन्त्रीपरिषद् बैठक बस्ने सम्भावना छ । २०७३ भदौ २९ गते कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङको पहिलो चार वर्षे कार्यकाल भोली आइतबार सकिदैछ । त्यसैले भोली नै मन्त्रीपरषद बैठक राखेर कुलमानलाई पुनः नियुक्ति दिने निर्णय हुन सक्नेछ ।
शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा घिसिङलाई फेरि नियुक्ति दिन प्रधानमन्त्री तयार भएका हुन् । उनले उर्जामन्त्री पुनलाई पुनः नियुक्तिको सबै तयारी गरेर ल्याउन निर्देशन दिएको ती नेताले बताए ।
कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी नियमावलीमा पुनर्नियुक्तिको स्पष्ट व्यवस्था नभएकाले आइतबार वा सोमबार बस्ने नियमित मन्त्रीपरिषदबाट निर्णय गरेपनि त्यो नयाँ नियुक्तिजस्तै नै हुनेछ। र, नियमावलीअनुसार मन्त्रीपरिषदले सिधै नियुक्ति दिनसक्नेछ। कार्यकारी निर्देशक भएपछि कुलमानले लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउन र ठूलो घाटामा चलिरहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्वदायी भूमिका खेलेका थिए। यद्यपी प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनको योजना र प्रोत्साहनले यसमा सफलता पाएको कुलमानले बताउँदै आएका छन्।