काठमाडौं । बर्दिया, महोत्तरी, नवलपरासी (पश्चिम), कपिलवस्तु र सिरहाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
बर्दिया, गुलरिया नगरपालिका–१२ गणेशपुरस्थित सडकमा भे।१ च १०३७ नम्बरको पिकअफ भ्यानले बुधबार साँझ साईकललाई ठक्कर दिँदा साईकलयात्री गुलरिया नगरपालिका–११ बस्ने ३५ वर्षीय अलि अहमद भाटको घटनास्थलमै मृत्यु भएको छ । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, गौशाला नगरपालिका(२ निगोल पानी ट्याङ्कीस्थित सडकमा सोही स्थान बस्ने १४ वर्षीय बालकले चलाएको साइकलबाट खसेर साइकल पछाडी सवार २२ वर्षीया निकी मण्डलको ७ महिनाको छोरा निकियम मण्डलको बुधबार दिउँसो मृत्यु भएको छ । साइकलबाट खसेर गम्भीर घाइते भएका निकियम मण्डलको प्राथमिक स्वास्थ्य केन्द्र गौशाला हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका–११ जमुवाडस्थित सडकमा ना. २ क २०९ नम्बरको ट्रकले लु ४५ प ८७४१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही ओमसतिया गाउँपालिका(४ बस्ने २४ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी पाल्हिनन्दन गाउँपालिका–४ बस्ने १९ वर्षीया प्रीति चौधरीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, बाणगंगा नगरपालिका–१० गलहा पुलस्थित सडकमा लु।१ ह २६४५ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार रुपन्देही गैडहवा गाउँपालिका(४ पौवा बस्ने ४० वर्षीय दया शंकर चामारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक सहित ४ जनाको स्थानीय यादव मेडिकल हल मिलनचोकमा उपचार भएकोमा २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा स ४ प ४६१० र स. ४ प ७९२१ नम्बरको दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स ४ प ४६१० नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका(९ गुलरीया बस्ने ३५ वर्षीय सिल्टु ठाकुर र अर्का मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-१० बस्ने ५१ वर्षीय दिपक कुमार पंजियार रहेका छन् । ठाकुरको उपचारको लागि लहानतर्फ लैजाँदै गर्दा बाटोमै र पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठाकुरको मोटरसाइकलमा सवार गुलरीया बस्ने जितेन्द्र महरा भन्ने ३५ वर्षीय शिव कुमार महराको भूमिजा अस्पताल लहानमा उपचार भईरहेको छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार एवं थप अनुसन्धान गरिरहेको छ ।