Logo

आइतवार, आश्विन २५ गते २०८३

images

महाधिवेशन सार्दै कांग्रेस

महाधिवेशन सार्दै कांग्रेस

दैनिकी न्यूज

१६, भाद्र २०७७
महाधिवेशन सार्दै कांग्रेस
images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरेको कांग्रेसले सुरु कार्यतालिका नै प्रभावित भएपछि महाधिवेशनको पूर्वनिर्धारित मिति नै सार्ने तयारी गरेको हो ।

‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको अवस्था छ त्यसकारण महाधिवेशन पनि सर्ने अवस्था आयो । यही समयमै हुन्छ भन्ने तय त केन्द्रीय समितिले गर्छ तर सर्छ,’ सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले राजधानीसँग भने ।

उनले सभापतिलाई काम नै गर्न नदिने गरी केही नेताहरू अघि बढेकाले समेत समयमा महाधिवेशन हुने अवस्था टर्दै गएको जनाए । ‘सभापतिलाई केही काम नै गर्न नदिने, जे गरे पनि विरोध गर्ने, जिल्ला सभापतिहरूलाई सदस्यताको फाराम नै लैजान नदिने अनि महाधिवेशन भएन भनेर सभापतिलाई मात्रै दोष दिएर होला रु’ नेता विश्वकर्माले भने ।

कांग्रेसले पछिल्लोपटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।

अन्तरिम संरचना समायोजन र क्रियाशील सदस्यता वितरणका लागि पछिल्लोपटक तोकेको म्याद सकिएर कार्यतालिका प्रभावित भएसँगै आगामी केन्द्रीय समितिबाट फेरि कार्यतालिका परिमार्जन गर्ने कांग्रेसको तयारी छ ।

तर, नेता कृष्णप्रसाद सिटौलाले भने केन्द्रीय समितिको म्याद आगामी फागुनमा नै सकिने हुँदा फेरि ६ महिनाको म्याद थप गर्दा पनि भदौमा नै थप म्यादसमेत सकिने भएकाले वैशाख वा जेठमै महाधिवेशन गर्न देउवालाई सुझाउँदै आइरहेका छन् ।
२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।

राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०५:५४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology