खोटाङ । ईलाका प्रहरी कार्यालय हलेसीले गाँजा नष्ट गर्ने कार्यमा सक्रिय देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ ऐसेलुखर्क, गुराँसेलगायतका स्थानमा रहेको अबैध लागुऔषध गाँजा फडानी गरिएको छ ।
इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेश प्रसाद खरेलको कमाण्डमा खटिई गएको ११ जना प्रहरी टोली र जनप्रतिनीधिसहितको टोलीले गाँजा नष्ट गरेको हो । यहाँका करिब साना ठुला गरी अन्दाजी ६०० भन्दा बढी गाँजाको बोटहरु फडानी गरेको निरीक्षक खरेलले जानकारी दिए ।
उनले भने, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि जनचेतना फैलाउँदै जानुको साथै कोरोना भईरसको मौका छोपी घरेलु हिंसाजस्ता सामाजिक अपराधलाई निस्तेज पार्न गस्तिलाई तिब्र गर्दै लैजाने क्रममा अन्दाजी १० रोपनी जग्गामा रहेको गाँजाको बोट नष्ट गरिएको हो ।’
विभिन्न स्थानमा गाँजा रहेको पाइएपछि प्रहरीले अंकुश लगाउन गाँजा फडानी अभियान यसभन्दा अगाडि पनि थालेको थियो ।
खेतबारीमा गाँजा खेती नै गरेको भेटिएमा कानुनी कारबाही गर्ने प्रहरी निरीक्षक खरेलले बताए । गाँजा नष्ट गर्ने अभियान चलाए पनि बाहिरबाट भित्रिने लागुऔषध नियन्त्रण गर्नतर्फ प्रहरीको ध्यान जानुपर्ने स्थानीयको भनाइ छ ।