काठमाडौं । महान्यााधिवक्ता अग्निप्रसाद खरेलले विभिन्न स्थानमा बनेका ११ वटा सरकारी वकीलको कार्यालयको नवनिर्मित भवनहरुको उद्घाटन गरेका छन् ।
उनले अनलाईन प्रविधि मार्फत आइतबार दिउँसो ती कार्यालयहरुको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोदन गर्दै उनले अप्ठ्याराका बीचमा सहजता खोज्दै, समस्याका बीचमा अवसरलाई पहिल्याउँदै सरकारी वकीलको कार्यालयको संस्थागत सुदृढीकरण गर्ने सन्दर्भमा यो आर्थिक वर्षको शुरुवातमै विभिन्न ११ वटा सरकारी वकील कार्यालयको भवन उद्घाटन गरिएको बताए ।
‘यस बीचमा महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाले तय गरे अनुरुप संस्थागत सुधार अन्तर्गत सरकारी वकीललाई भौतिक संरचनामा पनि अब्बल बनाउने उद्देश्य छ ।’, उनले भने–‘ जसअनुसार आगामी दिनमा थप दशवटा भवनहरु निर्माणको चरणमा रहेको र हालसम्म पचास वटा नयाँ भवनहरु उद्घाटन भईसकेको छ ।’
सरकारी वकीललाई भौतिक रुपमा सुविधा सम्पन्न बनाएर क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरु समेत संचालन गरेको खण्डमा मात्र मुद्दाको अभियोजन वस्तुपरक हुन सक्ने उल्लेख गर्दै यो कोभिडको विषम परिस्थितिमा समेत विभिन्न तीनवटा क्षमता विकास सम्बन्धी तालिम सम्पन्न भएको उनले जोड दिए ।
कार्यक्रममा नायब महान्याधिवक्ता पद्य्मप्रसाद पाण्डेयले विश्व कोभिड–१९ को महामारीमा परेको समयमा महान्याधिवक्ताको कार्यालयले अनलाईनमार्फत विभिन्न भवनहरुको उद्घाटन ऐतिहासिक भएको बताए । ‘जुन नेतृत्वले अप्ठ्यारामा अवसरलाई खोज्दछ त्यो नेतृत्व नै सफल नेतृत्व भएको उल्लेख गर्दै योजनाबद्ध ढंगबाट कार्यक्रमहरु निर्धारण गरिएकाले महान्यायाधिवक्ताको कार्यालयको भौतिक निर्माणमा सफलता मिलेको हो ।’, उनले भने ।
उच्च सरकारी वकीलको कार्यालय पोखरा, जिल्ला सरकारी वकीलको कार्यालय भोजपुर, धनुषा, महोत्तरी, सिराहा, बर्दिया, सल्यान, हुम्ला, कैलाली, डडेलधुरा र दाचुलाको नवनिर्मित भवनको उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रममा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश किशोर सिलवाल, सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौला, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, मुख्य न्यायाधिवक्ताहरु, सहन्यायाधिवक्ताहरु, प्रमुख जिल्ला अधिकारीहरु लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक क्षेत्री, बार अध्यक्ष श्रेष्ठ, सर्बाेच्च अदालतका मुख्य रजिष्ट्रार लगायतले शुभकामना मन्तव्य राख्दै कोभिड–१९ ले उत्पन्न गरेको विषम परिस्थितिमा समेत महान्यायाधिवक्ताको कार्यालयले ११ वटा नवनिर्मित सरकारी वकील कार्यालयको भवन निर्माण सम्पन्न गरी सूचना प्रविधिको उच्चतम प्रयोग गरी विशेष कार्यक्रम मार्फत उद्घाटन सम्पन्न गरेकोमा अन्य निकायले समेत यसखाले प्रयोगलाई आत्मसात गर्नु पर्नेमा जोड दिए ।
महान्यायाधिवक्ता कार्यालयले महान्यायाधिवक्ता खरेलको तीस महिनाको कार्यकालमा तीस भवन उद्घाटन भएको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयको इतिहासमा यति धेरै भवन उद्घाटन गरेको यो पहिलो अवसर भएको जनाएको छ । कार्यालयले यसै आबमा थप आठ भवन निर्माण सम्पन्न हुने अवस्थामा रहेको जनाएको छ ।