बारा । बाराको निजगढबाट भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ परेका छन् ।
निजगढ नगरपालिका वडा नं. १ पिपलटारस्थित धन्सार खोलाबाट प्रहरीले शुक्रबार राती दुई थान भरुवा बन्दुकसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा निजगढ १ का ५७ वर्षिय प्रेमबहादुर स्याङ्गतान र उनका छोरा ३३ वर्षिय जनकबहादुर स्याङ्गतान रहेका छन्।
पक्राउ परेका उनीहरुले बन्दुक जंगलमा रुखको टोड्कोमा भेटिएको बताएका छन्। ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट सिङगोलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरीको नेतृत्वको संयुक्त प्रहरी गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
उनीहरुलाई आईतबार हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत पेश गरिने थपलियाले जानकारी दिए।