Logo

बिहिवार, आश्विन १ गते २०८३

images

कृष्णभीरमा नयाँ ट्र्याक बनेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

कृष्णभीरमा नयाँ ट्र्याक बनेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

दैनिकी न्यूज

१, आश्विन २०८३
कृष्णभीरमा नयाँ ट्र्याक बनेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
images

काठमाडौं । बाढीका कारण धादिङको कृष्णभीर क्षेत्रमा क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग बिहीबार बिहानदेखि पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार कृष्णभीरमा सडक भासिएपछि निर्माण गरिएको वैकल्पिक नयाँ ट्र्याक तयार भएसँगै राजमार्गमा दुवैतर्फ सवारीसाधन चल्न थालेका हुन्। बिहान ६ बजेदेखि यातायात दुईतर्फी सञ्चालनमा आएको प्रशासनले जनाएको छ।

गत भदौ १० र १४ गते रसुवामा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको प्रभावले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्गको सडकखण्डमा क्षति पुगेको थियो। सडक भासिएपछि उक्त खण्डमा नियमित यातायात प्रभावित हुँदै आएको थियो।

राजमार्ग सञ्चालनमा ल्याउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सडक आयोजना तथा सम्बन्धित कार्यालय, निर्माण व्यवसायी, सुरक्षाकर्मी लगायतले निरन्तर काम गरेका थिए।

यसैबीच, प्रशासनले राजमार्गका अन्य स्थानमा भने सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायमै रहेको जनाएको छ। वर्षाका कारण जोखिम थप बढ्न सक्ने भन्दै चालक र यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

सडकमा पहिरो, ढुंगा वा अन्य अवरोध देखिएमा जबर्जस्ती अघि नबढ्न र सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिनसमेत प्रशासनले आग्रह गरेको छ।

images
प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - ०७:२५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology