काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले बिहीबार विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। बिहीबार बिहान कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको थियो।
पछिल्लो तीन घण्टामा खोटाङको ऐँसेलुखर्कमा १६.६ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा १०.२ मिलिमिटर र संखुवासभाको टासी गाउँमा ६.४ मिलिमिटर वर्षा मापन भएको छ।
बिहीबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णालीका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ।
पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी तथा तराई भूभाग, बागमतीको तराई र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
बिहीबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनीका पहाडी क्षेत्रमा थोरै स्थानमा वर्षा हुनसक्नेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।