Logo

बिहिवार, आश्विन १ गते २०८३

images

एक अर्ब ३४ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न युवक प क्राउ

एक अर्ब ३४ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न युवक प क्राउ

दैनिकी न्यूज

१, आश्विन २०८३
एक अर्ब ३४ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न युवक प क्राउ
images

काठमाडौं । प्रहरीले एक अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाका एक युवकलाई प क्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई प क्राउ गरिएको हो।

सीआईबीमा विभिन्न समयमा प्राप्त गोप्य सूचनाका आधारमा मलेसियालगायत विभिन्न मुलुकबाट नेपालमा अवैध रूपमा हुण्डी कारोबार भइरहेको विषयमा अनुसन्धान हुँदै आएको थियो। सोही क्रममा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी ठूलो रकमको हुण्डी कारोबार भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा हालसम्म रु. १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ बराबरको अवैध हुण्डी कारोबार भएको पुष्टि भएको सीआईबीले जनाएको छ।

उक्त कारोबारमा संलग्न रहेको आरोपमा मुखियाविरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो। त्यसपछि सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले उनलाई २०८३ भदौ ३० गते साँझ करिब ५ः२० बजे शहीदनगर नगरपालिका–४ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा व्यक्तिगत तथा व्यावसायिक बैंक खातामार्फत भएको कारोबार, रकमको स्रोत तथा कारोबारमा संलग्न अन्य व्यक्तिहरूबारे समेत थप विवरण संकलन भइरहेको छ। यस प्रकरणमा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान पनि तीव्र पारिएको सीआईबीले जनाएको छ।

हुण्डी कारोबारबाट विदेशबाट नेपालमा रकम भित्र्याउने वा नेपालबाट विदेशमा रकम पठाउने लगायतका कारोबार बैंकिङ प्रणालीबाहिर हुने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाउँदै आएको छ।

सीआईबीले अवैध हुण्डी तथा अन्य आपराधिक गतिविधिबारे जानकारी भए प्रहरीलाई सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। सूचना दिने व्यक्तिको परिचय तथा सूचनाको गोपनीयता कायम राखिने प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार मुखियामाथिको अनुसन्धानबाट कारोबारको वास्तविक प्रकृति, रकमको स्रोत र यसमा संलग्न अन्य व्यक्तिबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - ०७:२०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology