मोरङ । प्रहरी भर्नाका लागि सञ्चालित परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जनालाई पक्राउ गरिएको छ । विराटनगरस्थित प्रदेश १ प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान भर्ना परीक्षामा सहभागी नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको हो । भोजपुरको पौवादुङ्मा गाउँपालिका ६ का २३ वर्षीय सूर्य राई, उक्त ठाउँका १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, सहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई र साँगुरीगढी–८ का २७ वर्षीय राजकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । सूर्य राईले प्रहरी जवानमा भर्ना गराइदिने भन्दै संगम र सागरबाट १ लाख १८ हजारको दरले र सरोजबाट २ लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको श्रेष्ठले बताए । अवैध रूपमा रकम लिएर सूर्य, खपाङ र राजकुमारले नक्कली परीक्षार्थी भएर परीक्षामा सहभागी भएको अवस्थामा पक्राउ परेको उनले बताए ।