काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
शनिबार नेपाल र जापानबीचको खेल वर्षाका कारण अनिर्णित भएपछि दुवै टोलीले एक–एक अंक बाँडे। वर्षाका कारण खेल १५ ओभरमा छोट्याइएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो। नेपालले ब्याटिङ सकेपछि पुनः वर्षा भएपछि जापानले जवाफी ब्याटिङ गर्न पाएन। त्यसपछि खेल रद्द गरिएको हो।
एक अंक थपेसँगै नेपालले समूह ‘ए’मा तीन अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा स्थान बनायो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो।
अफगानिस्तान दुई अंकसहित समूह उपविजेता बनेर क्वार्टरफाइनल पुगेको छ। जापान भने प्रतियोगिताबाट बाहिरिएको छ।
क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल प्रवेशका लागि नेपालले श्रीलंकालाई पराजित गर्नुपर्नेछ। अर्को क्वार्टरफाइनलमा अफगानिस्तानले भारतको सामना गर्नेछ।
आईसीसीको टी–२० वरीयताका आधारमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।
जापानविरुद्धको खेलमा नेपालको ब्याटिङमा सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले ३२ बलमा तीन छक्का र पाँच चौकासहित अविजित ५७ रन बनाए।
सन्दीपले चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। यो उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ अर्धशतक हो। यसै क्रममा उनले टी–२० अन्तर्राष्ट्रियमा ६ सय रनसमेत पूरा गरेका छन्।
लोकेश बमले पनि आक्रामक ब्याटिङ गरे। छैटौँ नम्बरमा आएका उनले २२ बलमा छ छक्का र एक चौकाको मद्दतले अविजित ५२ रन बनाए। उनले अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।
यो लोकेशको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो। यस्तै, ओपनर आसिफ शेखले १५ बलमा एक छक्का र एक चौकासहित २१ रन बनाए।