काठमाडौं । चारदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा यूएईले नेपाललाई १९३ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन जोड्यो।
यूएईका ओपनर चिराग सुरीले ८४ रनको सानदार नटआउट इनिङ्स खेल्द टोलीलाई उक्त स्कोरमा पुर्याएका हुन्। ५३ बलको सामना गरेका सुरीले ५ चौका र ५ छक्का प्रहार गरे।
दोस्रो विकेटका लागि सुरीले रोहन मुस्ताफासँग ९७ रन रनको साझेदारी गर्दै यूएईको इनिङ्स अघि बढाएका थिए।
यूएईका पूर्वकप्तान रोहनले ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रन जोडे। अर्धशतक बनाउँन एक बल बाँकी हुँदा उनलाई चौधौ ओभरको तेस्रो बलमा आरिफ सेखले विकेटकिपर आसिफ सेखको हातबाट क्याच गराएका थिए।
यस्तै यूएईका अर्का ओपनर मोहम्मद वासिमले २२ रन जोडे। १३ बलमा उनले एक चौका र २ छक्का प्रहार गरेका थिए। मोहम्मद बुटाले ८ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।
आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाल, यूएई, आयरल्याण्ड र ओमानले चारदेशीय टी–२० शृंखला खेल्दैछन।
नेपालले यसअघि शुक्रबार ओमानसँग भएको खेल ६ विकेटले जितेको थियो। नेपालले अब सोमबार आयरल्याण्डसँग खेल्नेछ।