Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गाईजात्रा पर्व र यसको सांस्कृतिक पक्ष

गाईजात्रा पर्व र यसको सांस्कृतिक पक्ष

देवीदत्त पौडेल

७, भाद्र २०७८
गाईजात्रा पर्व र यसको सांस्कृतिक पक्ष
images

काठमाडौं । गाईजात्रा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने सामाजिक तथा सांस्कृतिक महत्वको पर्व हो । यो पर्व नेवारसंस्कृतिबाट सुरू भएको भए तापनि नेपाली समाजमा गाईजात्रा व्यङ्गय गर्ने दिनको रूपमा समेत परिचित छ ।

गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिनमा टोल टोलमा भजन कीर्तन पनि गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइएको छ ।

वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइँदै आइएको छ । गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाईजात्रा भनिएको हो ।

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले “जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर वा गाउँ परिक्रमा गराउनू“ भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।

गाईजात्रा पर्व नेपालीको मौलिक पर्व पनि हो । यसलाई सिपारु पर्व भनेर मौलिक रूपमा नेवार समुदायले मनाउने परम्परा पनि छ । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दुधर्ममा गाईजात्राको उल्लेख पद्मपुराणमा छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ ।

गाईलाई गौमाता पनि भनिन्छ । गाईको स्वरूपमा नगरपरिक्रमा गर्नाले तथा वर्षभरि मृत्यु भएका व्यक्तिहरूका आफन्तले गाईको पुच्छर समाई दानदक्षिणा गरे वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाइने चलन छ ।

गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरजनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्गय अङक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ । आठ दिनसम्म मनाइने यो जात्रा भाद्रकृष्ण अष्टमीसम्म जारी रहनेछ ।

कोरोना भाइरसको कारण यस वर्षको गाइजात्रा प्रभावित भएको छ । सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक बिदा दिइएको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ०७:२१:५४ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology