Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन

सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन

दैनिकी न्यूज

७, श्रावण २०७७
सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन
images

शिवकुमार काशी/हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले सामाजिक दूरी कायम गरेर विद्यालय सञ्चालन सुरु गरेका छन् ।

तर, हरेक दिन एउटा कक्षाका विद्यार्थीहरुलाई मात्रै विद्यालय बोलाइएको छ । गाउँपालिकासँगको परामर्श र छलफलपछि कक्षामा सामाजिक दुरी कायम राख्नेगरी बस्ने व्यवस्था मिलाइने र उचित सरसफाई व्यवस्था गर्नेगरी विद्यालय सुचारु गरिएको मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी अन्य विद्यालयहरुले पनि हरेक दिन फरक फरक कक्षाका विद्यार्थी र शिक्षकहरु बोलाएर केही घण्टा छलफल गराउने र गृहकार्य दिएर पठाउने गरी व्यवस्था मिलाएको बताएका छन् ।

‘एउटा कक्षामा २० जनाका दरले विद्यार्थी राख्यौँ’, राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक पौडेलले भन्नुभयो–‘कक्षा ९ का ८० जना विद्यार्थीका लागि ३ वटा कोठाको व्यवस्थापन गरेका छौँ ।’ केही दिनअघि गाउँपालिकाले विद्यालय सञ्चालनका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग अन्तरक्रिया गरी विद्यालय खोल्ने तरिकाबारे छलफल गरेको थियो ।

विद्यार्थीहरु घरमै रहँदा मानसिक समस्याहरु समेत देखिन थालेपछि विद्यालय जाने वातावरण तय गर्न कक्षागत आलोपालो गर्दै सामाजिक दुरी कायम राखेर कक्षा सञ्चालनमा ल्याइएको शिक्षा संयोजक हरिचन्द्र सापकोटाले बताउनुभयो । मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालयहरु रहेका छन् भने आधा दर्जन निजी विद्यालयहरु छन् । सामुदायिक विद्यालयहरुमा आलोपालो प्रणालीमा कक्षा सञ्चालन हुन थालेपछि निजी विद्यालयहरु पनि सोही अनुरुप खोल्ने तयारीमा लागेका छन् । रासस

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - ०६:२१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology