Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देशभर ६३ प्रतिशत सामुदायिक विद्यालय दरबन्दीविहीन

देशभर ६३ प्रतिशत सामुदायिक विद्यालय दरबन्दीविहीन

दैनिकी न्यूज

२, श्रावण २०७७
देशभर ६३ प्रतिशत सामुदायिक विद्यालय दरबन्दीविहीन
images

काठमाडौं । देशभर ३५ हजार ५ सय २० विद्यालयमध्ये ६३ प्रतिशत विद्यालयमा पूर्ण दरबन्दीका शिक्षक छैनन् । ३७ प्रतिशत विद्यालयमा मात्रै पूर्ण दरबन्दीका शिक्षक कार्यरत रहेका छन् । बाँकी आधारभूत (प्राथमिक) तहमा ५ हजार ३ सय ८, आधारभूत (निमावि) तहमा ५ हजार ३ सय ५७ र मावि तहमा २ हजार ८ सय ४७ गरी १३ हजार ५ सय १२ विद्यालयमा मात्र पूर्ण दरबन्दीका शिक्षक कार्यरत रहेको देखिएको छ ।

महालेखा परीक्षकको ५७औं वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख भएअनुसार झन्डै ४ हजार विद्यालयमा एक जना पनि शिक्षकको दरबन्दी छैन । ती विद्यालयमा अस्थायी, राहत र स्थानीय स्रोतको भरमा चलेका छन् । एक जना पनि शिक्षक दरबन्दी नभएको विद्यालयमा शिक्षक पदपूर्ति कहिले हुन्छ भन्ने विषय अन्योल छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले स्रोत अभावका कारण शिक्षक दरबन्दी विषयमा तत्काल निर्णय गर्न नसकिएको बताए । उनले स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने यो विषयमा मन्त्रालयले निर्णय गर्नुपर्ने बताए ।

प्रतिवेदनका अनुसार आधारभूत (प्रावि) तहका १ हजार ४ सय ८१, आधारभूत ९निमावि० तहका १ हजार ७४ र मावि तहका ५ सय ४ विद्यालयमा एक जना पनि शिक्षकको दरबन्दी छैन ।

एक जना मात्र दरबन्दी भएको विद्यालयको संख्या ५ हजार ७ सय ८२ छ । आधारभूत ९प्रावि० मा २ हजार ४ सय ४, आधारभूत ९निमावि० मा १ हजार ३ सय ५७ र मावि तहमा २ हजार २१ रहेको छ ।

केन्द्रले पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले दिएको प्रतिवेदनको अध्ययन गरी सोहीअनुसार दरबन्दी मिलान गर्ने तयारी गरेको छ ।

समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरी दरबन्दी पूर्ण गर्ने तयारी सरकारले गरेको छ । बजेटको कारण समस्या देखिएको केन्द्रको भनाइ छ । महानिर्देशक डा. थपलियाले दरबन्दीको विषयमा सरकारले निर्णय गर्न उपयुक्त हुने जानकारी दिए ।

तथ्यांकअनुसार हाल आधारभूत (प्रावि) तहमा १ लाख ६ हजार ८५, आधारभूत (निमावि) मा २५ हजार ६ सय ८७ र मावि तहमा १९ हजार ५ सय शिक्षक कार्यरत छन् ।

मन्त्रालयको तथ्यांकमा हाल मुलुकभर आधारभूत प्राविमा १ लाख ३ हजार ५ सय २, निमाविमा ५० हजार ३ सय ९१ र मावि तहमा ४३ हजार १२ जना शिक्षक आवश्यक रहेको उल्लेख गरेको छ । प्राविमा २ दशमलव ७२, निमाविमा ४९ दशमलव २ र मावि तहमा ५४ दशमलव ६२ प्रतिशत शिक्षक अपुग रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - ०७:३३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology