Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चिसो बढेपछि विद्यालय बन्द

चिसो बढेपछि विद्यालय बन्द

दैनिकी न्यूज

३, माघ २०७७
चिसो बढेपछि विद्यालय बन्द
images

बलेवा । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ। बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो। चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए।

‘हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय ४५ दिन बन्द हुन्छ’, अदैले भने, ‘यो वर्ष फागुन २ गतेसम्मका लागि बन्द गरेका छौँ।’ चिसोका कारण पश्चिम बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर छ। खोला तथा खोल्सा र धाराको पानी जम्न थालेपछि यहाँका स्थानीयलाई खानेपानीको समेत समस्या हुने गरेको अदैले बताए।

ढोरपाटन शिकार अरक्षण क्षेत्रमा बस्ने स्थानीय घुम्ती बसाई सर्ने गरेका छन्। वर्षाका समयमा खेतीपाती, भेडा च्याङ्ग्रा तथा गाईभैँसी लिएर लेक गएका स्थानीय चिसोमा बेंसी झरेका छन्। उनीहरु ढोरपाटनकै वडा नं ८ र ९ को बोङ्गेदोभान, बोवाङ क्षेत्रमा झरेका हुन्। लेकमा रहेका घरगोठ र पशु चौपायको हेरचाहका लागि बसेकाको जनजीवन कष्टकर रहेको नगरप्रमुख देवकुमार नेपालीले बताए।

पानी नपरेकाले यसपाली ढोरपाटन क्षेत्रमा अहिलेसम्म हिमपात भएको छैन। तुसारो र सिरेठोले बिहान र बेलुकी कठिन बनाउने गरेको छ। बिहानको तुसारोले खोला र धाराको पानी जम्ने गरेको प्रधानाध्यापक अदैले बताए। बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ। जमेको खोलामा तस्बिर खिचाउन तस्बिरका पारखी खोला छेउ पुग्ने गरेका छन्। रासस

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - १५:२७:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology