काठमाडौं । कोरोना कहरका बीच केही शिक्षक विद्यार्थीलाई सिकाउन कम्मर कसेर लागेका छन्, तर देशभरका अधिकांश सामुदायिक विद्यालयका शिक्षक निष्क्रिय बस्दा वैकल्पिक कक्षा प्रभावहीन बनेको छ ।
विद्यालय बन्द हुँदा बालबालिकालाई सिकाउने अभियानमा शिक्षकहरू केन्द्रित नभएको शिक्षाविद्हरू बताउँछन् । शिक्षण संस्था बन्द भए पनि पढ्नेरपढाउने कामलाई निरन्तरता दिनुपर्ने उनीहरूको सुझाव छ । सामुदायिक र संस्थागत गरी मुलुकभर ३ लाख १६ हजार ८ सय शिक्षक छन् । निजी विद्यालयले वैशाखदेखि नै वैकिल्पक कक्षा थालेकाले त्यहाँ कार्यरत धेरै शिक्षक शिक्षण पद्धतिमा जोडिएका छन् ।
सामुदायिक विद्यालयका २ लाख २७ हजार शिक्षक वैकल्पिक कक्षामा सक्रिय भएरनभएको कुनै लेखाजोखा छैन । शिक्षा मन्त्रालयले शिक्षकहरूलाई वैकल्पिक सिकाइ अभियानमा सहभागी हुन पटक–पटक ताकेता गर्दै आएको छ । चैतदेखि नै शिक्षण संस्था बन्द छन् ।
असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीबाट वैकल्पिक कक्षा अभियान सुरु गरिएको थियो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले गरेको अनुगमनमा वैकिल्पक कक्षा प्रभावकारी नभएको पाइएको छ । प्रभावकारी नहुनुको कारणमध्ये शिक्षक सक्रियता पनि एक हो । शिक्षा मन्त्रालय र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरूलाई वैकल्पिक कक्षामा सहभागी भएर विद्यार्थीलाई सहजीकरण गर्न अपिल गर्दै आएका छन् ।
सबै शिक्षक वैकल्पिक कक्षामा सक्रिय नभएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव दीपेन्द्र सुवेदीले बताए । ‘टोल–टोलमै शिक्षक पुगेर विद्यार्थीलाई सघाउने काम पनि भएको छ,’ उनले भने, ‘तर सबै शिक्षक खटिएका छन्, विद्यार्थीसम्म पुगेका छन् भन्न सकिँदैन ।’ कुल शिक्षकमध्ये वाग्मती प्रदेशमा सबैभन्दा बढी २० प्रतिशत शिक्षक कार्यरत छन् । प्रकोपको समय भएकाले पनि शिक्षक विद्यार्थीको पहुँचसम्म पुग्न नसकेको सुवेदीले तर्क गरे ।
शिक्षाकर्मीहरू भने तलबभत्ता लिइरहेका शिक्षक आफैं जागरुक हुनुपर्ने बताउँछन् । वैकल्पिक कक्षामा सहभागी भएर बालबालिकालाई सिकाउन शिक्षकहरू सक्रिय हुनुपर्ने शिक्षाविद् मनप्रसाद वाग्लेले बताए । ‘शिक्षकहरूले अप्ठ्यारो बेलामा पनि नवीनतम् काम गरिरहनुभएको छ तर यो साह्रै कम छ,’ उनले थपे, ‘अब सबै शिक्षक विद्यालय आउनैपर्छ, सम्भव हुने विधिबाट वैकल्पिक कक्षामा जोडिएर बालबालिकालाई न्याय गर्नैपर्छ ।’
सरकारले नै शिक्षकहरूलाई पठनपाठन गराउन अल्मल्याउने गरेको छ । लकडाउनलाई सार्वजनिक बिदामा गणना गर्ने भनेपछि शिक्षकहरू उक्त अवधिलाई बिदा ठानेर पनि पठनपाठनमा सहभागी भएनन् । वैकल्पिक कक्षा असारदेखि एक महिनालाई मात्र भनिएको थियो । शिक्षकहरू त्यसपछि खुल्ला र विद्यालय जाउँला भनेर बसे । विद्यालय बन्द रहे पनि सिकाइ क्रियाकलाप अघि बढाउन नसके शैक्षिक सत्र गुम्न शिक्षाविद्हरूको चिन्ता छ । कान्तिपुर दैनिकबाट