Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images

प्रश्न इनमको, निशानामा पत्रकार

प्रश्न इनमको, निशानामा पत्रकार

रामहरि कार्की

१८, कार्तिक २०८३
प्रश्न इनमको, निशानामा पत्रकार
images

कात्तिक १३ गते शुक्रबार दिउँसो ३ः३० बजे । अनामनगरस्थित भाटभटेनी नजिकै रहेको मोटिभेट न्युजको कार्यालयमा पत्रकार शोभराज बराल आफ्नो नियमित काममा व्यस्त थिए । त्यही बेला सादा पोसाकका प्रहरी कार्यालयमा पुगे । ‘केही कुरा गर्नुपर्ने छ’ भन्दै उनलाई समाचार कक्षबाट नियन्त्रणमा लिएर गए ।
त्यसै दिन नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पनि नेपाल प्रेसकै समाचार कक्षबाट प्रहरीले नियन्त्रणमा लियो । नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत साइबर ब्युरोमा बोलाइएको खबर सार्वजनिक भयो ।
डिएनए खबरका पत्रकार धिरज बस्नेत पनि पक्राउ परे । यतिले प्रहरीको खोजी रोकिएन । साइबर ब्युरोको नाम लिँदै पत्रकार नवराज मैनालीको खोजीमा प्रहरी नयाँ पत्रिका दैनिकको कार्यालय पुगे । त्यस्तै दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र सम्पादक रीता बुढाथोकीलाई खोज्न सादा पोसाकका प्रहरी दियो पोष्टको कार्यालयमा खटाइएको खबर आयो । नागरिक दैनिकको कार्यालयमा समेत सादा पोसाकका प्रहरी पुगेको जानकारी सार्वजनिक भए ।
एकै दिन सञ्चारमाध्यमका कार्यालयमा प्रहरीको आवतजावत, पत्रकार पक्राउ र सम्पादकहरूको खोजी । नेपाली पत्रकारिताका लागि यो सामान्य दृश्य थिएन । यस दिन ज्ञानेन्द्रको शाही शासनकालको झझल्को आयो । अझ महत्वपूर्ण कुरा, यो सबै शुक्रबार भएको थियो । त्यसपछि शनिबार र आइतबार सार्वजनिक बिदा थियो । सञ्चारमाध्यममा प्रकाशित समाचार, सामाजिक सञ्जालमा उठेका प्रश्न र पत्रकारहरूमाथि भइरहेको प्रहरी कारबाहीले एउटा गम्भीर प्रश्न जन्माएको थियो– आखिर पत्रकारहरूले के लेखेका थिए, जसको जवाफ समाचारको खण्डनबाट होइन, प्रहरीको उपस्थितिबाट खोजिँदै थियो ?
शुक्रबार राती ९ बजे सञ्चार मन्त्री विक्रम तिमल्सिनाले सामाजिक सञ्चाल मार्फत पक्राउ परेका सबै पत्रकारहरू रिहा भएको जानकारी दिए । उनले भने, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन ।’
तर यो घटनालाई बुझ्न कात्तिक १३ गतेको प्रहरी गतिविधि मात्रै हेरेर पुग्दैन । त्यसको पृष्ठभूमिमा देशभर चर्चा भइरहेको इनम सापकोटा प्रकरण थियो ।
देशको ध्यान तानिरहेको एउटा नाम
त्यतिबेला इनम सापकोटा प्रकरणले नेपाली समाजको ध्यान खिचिरहेको थियो । देशका प्रतिष्ठित राजनीतिक नेता, कर्मचारी, प्रहरी, व्यापारी र न्यायाधीशसँग उनको सम्बन्धबारे विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका थिए । ती सम्बन्धको प्रकृति के थियो ? कसरी बनेका थिए ? कुन तहसम्म जोडिएका थिए ? सार्वजनिक पदमा रहेका व्यक्तिहरूसँगको सम्बन्धले कुन–कुन प्रश्न जन्माउँथ्यो ?
यी प्रश्नको जवाफ खोज्ने प्रयासमा सञ्चारमाध्यमहरू सक्रिय थिए । सामाजिक सञ्जालमा पनि यही विषयले चर्चा पाइरहेको थियो । आमनागरिक चासोपूर्वक समाचार पढिरहेका थिए । कतिपयले प्रश्न उठाइरहेका थिए । कतिपयले सार्वजनिक जवाफ मागिरहेका थिए । नयाँ पत्रिका दैनिक र दियोपोष्टले यसबारे विहीबार समाचार विशेष प्राथमिकतासहित पकाशन गरेको थियो ।
इनम सापकोटा प्रकरण एउटा व्यक्तिको समाचारमा मात्रै सीमित रहेन । यसले राज्यको शक्ति संरचना, राजनीतिक पहुँच, आर्थिक स्वार्थ र प्रभावशाली व्यक्तिहरूबीचको सम्बन्धबारे प्रश्न उठाउन थालेको थियो ।
लोकतन्त्रमा यस्ता प्रश्न उठ्नु अस्वाभाविक होइन । बरु सार्वजनिक पदमा रहेका व्यक्ति र शक्तिशाली समूहको गतिविधिबारे प्रश्न उठ्नु नै लोकतान्त्रिक समाजको स्वस्थ अभ्यास हो । कसैको नाम जोडियो भन्दैमा ऊ दोषी ठहरिँदैन । समाचार प्रकाशित भयो भन्दैमा त्यसमा उल्लेख भएका सबै कुरा स्वतः प्रमाणित पनि हुँदैनन् । तर प्रश्न उठिसकेपछि त्यसको तथ्यपूर्ण जवाफ दिने दायित्व सम्बन्धित पक्षको हुन्छ ।
समाचारमा त्रुटि भए खण्डन गर्न सकिन्छ । कसैको प्रतिष्ठामा आँच आएमा कानुनी उपचार खोज्न सकिन्छ । तर समाचारको विषयवस्तुमाथि जवाफ दिनुको सट्टा समाचार लेख्ने पत्रकार र सञ्चारमाध्यममाथि नै प्रहरी परिचालन हुन थाल्यो भने त्यसले अर्को गम्भीर प्रश्न जन्माउँछ ।
इनम सापकोटा प्रकरणमा उठेका प्रश्नको जवाफ खोजिनुपर्ने समयमा पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरीको खोजीले सार्वजनिक बहसको दिशा नै बदल्ने जोखिम पैदा गरेको छ ।
प्रश्नको जवाफ कि प्रश्न सोध्नेमाथि कारबाही ?
पत्रकारको काम सत्ताको प्रशंसा गर्नु होइन । सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउनु हो । नागरिकले थाहा पाउनुपर्ने सूचना खोज्नु हो । शक्तिमा रहेका व्यक्तिहरूलाई जवाफदेही बनाउनु हो । पत्रकार राज्यका चौथो अङ्ग हुन् । उनीहरूको भूमिका ‘वाच डग’को हुन्छ ।
पत्रकारले लेखेको समाचार गलत हुन सक्छ । पत्रकार पनि गल्तीबाट मुक्त हुँदैनन् । तर त्यसको समाधान कानुनी प्रक्रियाभित्र हुनुपर्छ । पत्रकारितामा भएका कमजोरीलाई सुधार्ने नाममा प्रहरीको बल प्रयोग गर्नु लोकतान्त्रिक अभ्यास हुन सक्दैन ।
नेपालको संविधान, २०७२ को प्रस्तावनाले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । संविधानको धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको छ । यसको अर्थ सञ्चारमाध्यमले जे लेखे पनि कानुनभन्दा माथि हुन्छन् भन्ने होइन । तर सञ्चारमाध्यमले समाचार प्रकाशित गरेकै कारण भय र त्रासमा काम गर्नुपर्ने अवस्था आउनु पनि संविधानको मर्मविपरीत हो । कात्तिक १३ गतेको घटनाले यही संवैधानिक प्रतिबद्धताको परीक्षण गरिरहेको छ ।
पत्रकार पक्राउ पर्नु, सम्पादकहरूलाई साइबर ब्युरो बोलाइनु र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्नुको वास्तविक कानुनी आधार के थियो ? प्रहरीले कुन समाचारलाई लिएर अनुसन्धान गरिरहेको थियो ? सम्बन्धित पत्रकारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बोलाइएको थियो कि कार्यकक्षबाटै नियन्त्रणमा लिइएको थियो ? यी प्रश्नको जवाफ सरकारले दिनुपर्छ ।
तर यस्ता प्रश्न उठिरहेकै बेला अर्को प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ– इनम सापकोटा प्रकरणले उठाएका मूल प्रश्नहरू हराउने त होइनन् ?
असार ३० को त्यो दृश्य
नेपाली प्रेसले यसअघि पनि यस्तै अनौठो परिस्थिति भोगेको थियो । असार ३० गते सोमबार बिहानैदेखि नेपाली सञ्चारमाध्यममा एउटा अनपेक्षित घटनाले तरङ्ग ल्यायो । विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि बाटो छेक्ने गरी गाडीहरू तेस्र्याएर राखिएका थिए । सञ्चारमाध्यममा आवतजावत गर्न असहज हुने गरी गाडी राखिएका दृश्य सार्वजनिक हुन थाले ।
कसले ती गाडी राखेको थियो ? किन राखिएको थियो ? त्यसको उद्देश्य के थियो ? सुरुमा केही स्पष्ट थिएन । तर दिउँसो हुँदै जाँदा ती गाडी सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित व्यक्तिहरूसँग जोडिएको विवरण सार्वजनिक हुन थाल्यो । त्यति मात्रै होइन, तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि समेत त्यसैगरी बाटो छेक्ने गरी गाडी राखिएको समाचार बाहिरियो ।
यो नेपाली सञ्चार क्षेत्रका लागि मात्रै होइन, समग्र समाजका लागि अनौठो दृश्य थियो । सञ्चारमाध्यमको ढोकाअगाडि गाडी तेस्र्याएर बाटो छेक्नु सामान्य घटना थिएन । त्यसले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र राज्यको व्यवहारबारे गम्भीर प्रश्न उठाएको थियो ।
तर त्यो घटनाको पृष्ठभूमि पनि उत्तिकै अर्थपूर्ण थियो । त्यसको चार दिनअघि मात्रै मुगुका युवा गणेश नेपालीले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए । त्यसको दुई दिनपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरू बाढीको चपेटामा परेका थिए । यी घटनामा सरकारको व्यवहारलाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको थियो ।
सरकारले गरेका कामकारबाहीमाथि प्रश्न उठिरहेका थिए । झन्डै दुईतिहाइ नजिकको सरकारको नेतृत्व गरिरहेको बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् आलोचनाको घेरामा थियो । जनताले अपेक्षा गरेको परिवर्तन र सरकारको कार्यशैलीबीचको अन्तरबारे बहस भइरहेको थियो । यही समयमा सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्साइए ।
त्यस घटनाले केही समयका लागि मूल बहसलाई ओझेलमा पा-यो । गणेश नेपालीको आत्मदाह प्रयास, सुकुमवासीमाथिको व्यवहार र सरकारको जवाफदेहिताबारे उठिरहेका प्रश्नसँगै अब सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी कसले राख्यो भन्ने विषय चर्चामा आयो । सरकार र त्यससँग सम्बन्धित व्यक्तिहरूको आलोचना भइरहेका बेला अर्को विवाद जन्मिएको थियो । त्यो विवादले सार्वजनिक बहसको दिशा बदल्ने काम ग-यो ।
असारको त्यो घटनालाई अहिले कात्तिक १३ गतेको घटनासँग जोडेर हेर्दा एउटा समानता देखिन्छ– दुवै पटक नेपाली प्रेसको गतिविधि सार्वजनिक बहसको केन्द्रमा पुगे । दुवै पटक प्रेस स्वतन्त्रता र सञ्चारमाध्यममाथिको व्यवहारबारे प्रश्न उठे । तर यी घटनाको समय र पृष्ठभूमिले एउटा थप प्रश्न जन्माएको छ । के सार्वजनिक आलोचनाको केन्द्रमा रहेका विषयबाट नागरिकको ध्यान अन्यत्र मोड्ने प्रवृत्ति दोहोरिँदै छ ?
राजनीतिमा ‘डेड क्याट स्ट्राटेजी’
राजनीतिक सञ्चार र जनमत व्यवस्थापनको बहसमा ‘डेड क्याट स्ट्राटेजी’ भन्ने एउटा अवधारणा चर्चित छ । यसको अर्थ हो– आफूले सामना गरिरहेको असहज प्रश्नबाट जनताको ध्यान हटाउन जानाजान अर्को विवादास्पद विषय अघि सार्नु ।
यस अवधारणालाई बेलायती राजनीतिज्ञ बोरिस जोन्सनले पनि आफ्नो राजनीतिक लेखनमा चर्चित बनाएका थिए । यसको व्याख्या गर्दा एउटा टेबलमा गम्भीर विषयमा छलफल भइरहेको कल्पना गरिन्छ । छलफलमा सहभागीहरू एउटा महत्वपूर्ण मुद्दाबारे बहस गरिरहेका हुन्छन् । त्यही बेला कसैले टेबलमा मरेको बिरालो फालिदिन्छ ।
अब त्यहाँ भइरहेको छलफलको विषय बदलिन्छ । सबैको ध्यान मरेको बिरालोतिर जान्छ । कसले ल्यायो ? किन ल्यायो ? कहाँबाट आयो ? कसले फाल्यो ? अब बहसको केन्द्र त्यही बन्छ । पहिले छलफल भइरहेको विषय पछाडि धकेलिन्छ ।
राजनीतिमा पनि यस्तै हुन सक्छ । सरकारमाथि प्रश्न उठिरहेका बेला अर्को ठूलो विवाद जन्मिन्छ । सञ्चारमाध्यम, सामाजिक सञ्जाल र नागरिकको ध्यान त्यतैतिर केन्द्रित हुन्छ । पहिले उठेका प्रश्नहरू क्रमशः ओझेलमा पर्छन् ।
इनम सापकोटा प्रकरणको चर्चा भइरहेका बेला पत्रकार पक्राउ, सञ्चारमाध्यममा प्रहरीको खोजी र सम्पादकहरूलाई साइबर ब्युरो बोलाइएको घटनाले यस्तै आशङ्का जन्माएको छ । यद्यपि, यी सबै घटनाको पछाडि एउटै योजनाबद्ध उद्देश्य थियो भनेर प्रमाणबिना निष्कर्ष निकाल्न मिल्दैन । प्रहरी अनुसन्धानको आफ्नै कानुनी प्रक्रिया र आधार हुन सक्छन् । तर घटनाहरू कुन समयमा भए, त्यसले सार्वजनिक बहसलाई कता पु¥यायो र कुन विषय ओझेलमा परे भन्ने प्रश्न उठाउनु नागरिक र सञ्चारमाध्यमको अधिकार हो ।
सरकारले यी आशङ्का चिर्ने हो भने घटनाको विवरण सार्वजनिक गर्नुपर्छ । पत्रकारमाथि भएका कारबाहीको कानुनी आधार देखाउनुपर्छ । इनम सापकोटा प्रकरणमा उठेका प्रश्नको निष्पक्ष अनुसन्धान र जवाफदेहिताबाट राज्य पन्छिनु हुँदैन । शुक्रबार भएको घटनामा नेपाल प्रहरी, सरकार एक अर्कालाई दोष देखाएर पन्छिनु कदापि पाइदैन ? सरकारको निर्देशन विना यस्तो कार्य सम्भव छैन र हुँदैन ।
कलम डराए, लोकतन्त्र हार्छ
प्रेस स्वतन्त्रता पत्रकारको व्यक्तिगत सुविधा होइन । यो नागरिकको जान्न पाउने अधिकारसँग जोडिएको विषय हो । पत्रकारले समाचार लेख्दा कुनै व्यक्तिको नाम आउन सक्छ । कुनै संस्थाको कमजोरी उजागर हुन सक्छ । कुनै शक्तिशाली व्यक्तिको सम्बन्ध र कारोबारमाथि प्रश्न उठ्न सक्छ । त्यही कारण पत्रकारलाई नियन्त्रणमा लिने, सञ्चारमाध्यमलाई त्रसित बनाउने र सम्पादकहरूलाई अनावश्यक दबाबमा राख्ने अभ्यास स्थापित भयो भने त्यसको असर पत्रकारितामा मात्रै सीमित हुँदैन ।
पत्रकारले प्रश्न सोध्न डराउँछ । सम्पादकले समाचार रोक्न थाल्छ । सञ्चारमाध्यमले विवादित विषयबाट टाढै बस्न खोज्छ । अन्ततः नागरिकले थाहा पाउनुपर्ने सूचना पाउँदैनन् । यसरी प्रेसमाथि पर्ने दबाबको अन्तिम मूल्य नागरिकले चुकाउनुपर्छ ।
लोकतन्त्रमा सरकारको आलोचना हुनु सरकारविरोधी गतिविधि होइन । सरकारलाई प्रश्न गर्नु व्यवस्था विरोधी काम पनि होइन । बरु प्रश्नको जवाफ दिनु र आलोचनालाई सहनु लोकतान्त्रिक शासनको आधार हो ।
इनम सापकोटा प्रकरणमा उठेका प्रश्नको सत्यतथ्य सार्वजनिक हुनुपर्छ । समाचारमा कसैको चरित्रहत्या भएको छ भने कानुनी उपचार खोजिनुपर्छ । गलत सूचना प्रकाशित भएको छ भने त्यसको खण्डन हुनुपर्छ । तर पत्रकारलाई पक्राउ गरेर वा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पु¥याएर जनताको चासो समाप्त हुँदैन । सत्य खोज्ने काम रोकिँदैन । बरु त्यस्तो व्यवहारले थप प्रश्न जन्माउँछ ।
मूल प्रश्न अझै बाँकी छ
आजको मूल प्रश्न पत्रकार पक्राउ परे कि परेनन् भन्ने मात्रै होइन । सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्यो कि पुगेन भन्ने पनि मात्रै होइन । मूल प्रश्न हो– इनम सापकोटा प्रकरणमा उठेका सार्वजनिक सरोकारका प्रश्नहरूको जवाफ के हो ?
देशका प्रभावशाली राजनीतिक नेता, प्रहरी, व्यापारी र न्यायिक क्षेत्रका व्यक्तिहरूसँग जोडिएका भनिएका सम्बन्धहरूको वास्तविकता के हो ? ती सम्बन्धले कुनै सार्वजनिक निर्णय, आर्थिक कारोबार वा राज्यको शक्ति प्रयोगमा प्रभाव पारेका थिए कि थिएनन् ? यदि थिए भने त्यसको छानबिन कसले गर्ने ? यदि समाचारमा आएका विवरण गलत हुन् भने सम्बन्धित पक्षले प्रमाणसहित किन सार्वजनिक जवाफ नदिने ? यी प्रश्नको जवाफ पत्रकार पक्राउबाट प्राप्त हुँदैन । प्रहरीको उपस्थितिले पनि प्राप्त हुँदैन ।
शुक्रबार पक्राउ परेका पत्रकारहरू र प्रहरी पुगेका सञ्चारमाध्यमका कार्यालयहरू केही दिनपछि फेरि आफ्नो नियमित काममा फर्केलान् । समाचारका शीर्षक फेरिएलान् । सामाजिक सञ्जालमा नयाँ विषयले ठाउँ लेलानन् । तर इनम सापकोटा प्रकरणले जन्माएका प्रश्नहरू त्यत्तिकै हराउन मिल्दैन ।
असार ३० गते सञ्चारमाध्यमका ढोकाअगाडि गाडी तेस्र्याइएका थिए । कात्तिक १३ गते सञ्चारमाध्यमका कार्यकक्षमै प्रहरी पुगे । दृश्य फरक छन् । घटना फरक छन् । तर दुवैले नेपाली प्रेसलाई एउटै गम्भीर प्रश्नको सामना गराएका छन्– सत्ता र शक्तिमाथि प्रश्न उठाउँदा प्रेस कति सुरक्षित छ ?
सरकार प्रहरीको बदनाम गराएर आईजिपीको राजीनामा माग्न सक्ला । जनताको ध्यान केही समयका लागि अन्यत्र मोड्न सकिएला । समाचारको शीर्षक बदल्न सकिएला । सामाजिक सञ्जालको बहसलाई विषयान्तर गर्न सकिएला । तर सार्वजनिक सरोकारका प्रश्नहरूलाई सधैँका लागि दबाउन सकिँदैन । किनकि लोकतन्त्रमा प्रश्नहरू कसैको निजी सम्पत्ति होइनन् । ती नागरिकका साझा अधिकार हुन् । र, कुनै पनि सरकारका लागि सबैभन्दा ठूलो चुनौती आलोचना होइन, आलोचनाबाट भाग्ने प्रवृत्ति हो ।
सरकारको यस्तो छद्म र केटाकेटी शैलीले लोकतान्त्रिक मूल्यप्रतिको उसको प्रतिबद्धता, प्रेस स्वतन्त्रताको सम्मान र जनताप्रतिको उत्तरदायित्वमाथि नै गम्भीर प्रश्न उठाएको छ । लोकतान्त्रिक सरकारको पहिलो दायित्व सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र निर्भीक रूपमा काम गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु हो । पत्रकारलाई भय, त्रास र दबाबबाट मुक्त राख्नु हो । तर, विडम्बना ! वर्तमान सरकार ठीक उल्टो बाटोमा हिँडिरहेको छ । उसका गतिविधिले सञ्चारमाध्यममाथि नियन्त्रण जमाउने पुरानै शाहीकालीन मानसिकता फेरि ब्युँताउन खोजेको आभास हुन्छ । फरक यति हो, नियन्त्रणको शैली फेरिएको छ, नियत भने उस्तै देखिन्छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८३ मंगलवार - ०९:११:०४ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology