काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा बहुप्रतिभाशाली कलाकारका रूपमा परिचित शिवजी क्षेत्रीको मुख्य अभिनय, नृत्य संयोजन तथा निर्देशनमा नयाँ सांगीतिक कोसेली ‘कसले चोर्यो मन’ सार्वजनिक भएको छ।
जेबी ओली संगीतको प्रस्तुतिमा तयार भएको गीतको भिडियो ‘लाइभ म्युजिक नेपाल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा शिवजी क्षेत्री र चर्चित मोडल अञ्जली अधिकारीको रोमान्टिक अभिनय देख्न सकिन्छ।
गीतमा जेबी ओली संगीत र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको छ। हेमनाथ खरेलको शब्द तथा जय सागर गिरीको थेगो रहेको गीतमा संगीत बीबी अनुरागीले भरेका छन्। कोरस गायनमा शरद बुढाथोकी, राजेश बराइली, सरिता केसी र सुनिता खपाङ्गी मगरले साथ दिएका छन्।
गीतको संगीत संयोजन केशव बादीले गरेका छन्। रेकर्डिङ गोविन्द अनेकले गरेका हुन् भने स्वर सम्पादन कमल थापा तथा मिश्रण र अन्तिम ध्वनि संयोजन श्याम रसाइलीले गरेका छन्।
गीतको भिडियो छायांकन सुनिल राउत र उनको समूहले गरेको हो। दृश्य सम्पादन नवीन घर्ती मगरले गरेका छन्। शृङ्गार माही सिंह र समूह तथा नारायण भण्डारीले गरेका छन्। भिडियोको सम्पूर्ण निर्माणपछिको काम शिवाजी नृत्य केन्द्रमार्फत गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियोमा शिकारी र गाउँले युवतीबीचको प्रेमकथा प्रस्तुत गरिएको छ। शिवजी क्षेत्रीको नृत्य संयोजन, निर्देशन तथा अञ्जली अधिकारीसँगको अभिनयले भिडियो आकर्षक बनेको निर्माण पक्षको दाबी छ।
गीत तथा भिडियो सार्वजनिक भएपछि दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टोलीले जनाएको छ। निर्माण पक्षले गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।