Logo

आइतवार, श्रावण २४ गते २०८३

images

वैकल्पिक सिकाइ सहजीकरण : माध्यम, पहुँच र प्रयोग

वैकल्पिक सिकाइ सहजीकरण : माध्यम, पहुँच र प्रयोग

देवीदत्त पौडेल

२७, आषाढ २०८१
वैकल्पिक सिकाइ सहजीकरण : माध्यम, पहुँच र प्रयोग
images

लेखसार
सङ्कटभित्र अवसर र समस्याभित्र समाधानको विकल्प हुन्छ । विकल्पकै खोजीमा यतिखेर शिक्षा पद्धतिमा परिवर्तन गर्ने अवसर प्राप्त भएको छ । सबैको पहुँचमा पुग्न नसके पनि यस बिचमा वैकल्पिक सिकाइले सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सिकायो । स्वयम् सिकाइ र दौँतरी सिकाइको महत्त्व बढायो । स्वाध्ययन सामग्री बने । विद्यार्थीहरू अनलाइन र अफलाइन कक्षामा अभ्यस्त हुन थाले । आज पनि आफ्ना संवेग, अभिप्रेरणा र व्यवहारहरूलाई अध्ययन एवम् व्यवस्थित गर्ने व्रmम बढ्दो छ । रेडियो एफएम, टेलिफोन, टेलिभिजनलगायतका सञ्चार माध्यममार्फत सिकाइ सहजीकरण अगाडि बढाइएको छ । यस्तो परिस्थितिमा सबैभन्दा बढी स्थानीय सरकार र जनप्रतिनिधिहरूले सोच्नुपर्छ । सोचेपछि विकल्प निस्किन्छ । चुनौतीलाई सामना गर्न र विकल्पका बाटाहरू हिँड्न सबैभन्दा पहिला शिक्षक र अभिभावक तयार हुनुपर्छ । अत: सिकाइ सहजीकरणका वैकल्पिक साधनहरूको महत्त्व, प्रभावकारी प्रयोग र पहुँच बिस्तारतर्फ सबैको ध्यान जान जरुरी छ ।

विषय प्रवेश
विद्यालयमा नियमित पठनपाठन नभएसम्म आ-आफ्नो परिवेश अनुकूल विभिन्न माध्यममार्फत सिकाइलाई सुचारु गर्ने प्रव्रिmया वैकल्पिक सिकाइ हो । यसबेला नाक, कान, छाला, जिब्रो, हात, खुट्टा, औँला, आँखा, मस्तिष्क आदि शरीरका अङ्गहरू सिकाइका निम्ति बढी प्रयोग गरिन्छन् । तत्परता र अभ्यासमार्फत सिकारु स्वयम् सिक्न उत्प्रेरित हुने वातावरण वैकल्पिक सिकाइ सहजीकरणले सिर्जना गर्दछ ।

नेपालमा वैकल्पिक सिकाइको जग वि.सं. २०१४ सालमा प्रौढ कार्यव्रmममार्फत प्रारम्भ भएको हो । वि.सं. २०३५ सालमा स्थापित रेडियो शिक्षक तालिम हुँदै वि.सं. २०६४ सालमा परीक्षणका रूपमा सञ्चालन गरिएको खुला विद्यालय कार्यव्रmमले वैकल्पिक सिकाइ सहजीकरणको जगलाई थप सुदृढ बनाउन टेवा पु-याएको छ । नेपालमा वैकल्पिक शिक्षा प्रणालीको अभ्यास हेर्ने हो भने नवौँ पञ्चवर्षीय योजना (२०५४–५९) ले दूरशिक्षामार्फत विद्यालय तहको शिक्षा प्रदान गर्न खुला विद्यालयको स्थापनाको व्यवस्था ग-यो । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५ ले दूरशिक्षा तथा खुला सिकाइमार्फत विद्यालय शिक्षा प्रदान गर्ने व्यवस्था ग¥यो । सबैको शिक्षा राष्ट्रिय कार्ययोजना (२००१–१५) मा आजीवन सिकाइको अभिवृद्धिका निम्ति खुला सिकाइको अवसरहरूको सिर्जनामा जोड दिइयो । दशौँ पञ्चवर्षीय योजना (२०५९–६४) मा दूरशिक्षामार्फत विद्यालय तहको शिक्षा प्रदान गर्नुका अतिरिक्त विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था ग-यो । वि.सं. २०७२ सालमा भूकम्पबाट अति प्रभावित पहाडी जिल्लाहरूमा भर्चुअल पद्धतिको र नाकाबन्दीका बेला तराई मधेसमा टेलिभिजन र एफएम रेडियोबाट बालबालिकालाई सिकाउने प्रयास गरियो । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ को स्वीकृति तथा कार्यान्वयनसम्म आइपुग्दा अनलाइन शिक्षा, समुदायमा आधारित शिक्षा, अभिभावक शिक्षा, स्वाध्ययन सामग्री, रेडियो शिक्षा, टेलिफोन शिक्षा, टेलिभिजन शिक्षा वैकल्पिक सिकाइ सहजीकरणका माध्यम बन्न पुगेका छन् ।

विषयवस्तु
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७ भदौ १९ को मा. मन्त्रीस्तरीय निर्णयअनुसार विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ स्वीकृत भयो । निर्देशिकाको दफा ३ को उपदफा (२) मा स्रोत र साधनमा विद्यार्थीको पहुँचको आधारमा पाँचओटा समूहमा विद्यार्थीलाई वर्गीकरण गरिएको छ । यस वर्गीकरणले पहिलो, घरलाई नै शिक्षालयका रूपमा विकास गरी स्वसिकाइ केन्द्रित होम स्कुलिङलाई व्यापक रूपमा उपयोग गर्ने कुरामा जोड दिएको छ । दोस्रो, अनौपचारिक, वैकल्पिक, खुला तथा दूरशिक्षा पद्धतिलाई थप सुदृढीकरण गरी सिकाइलाई निरन्तर अघि बढाउनुपर्ने भनेको छ । तेस्रो, शिक्षक तथा विद्यार्थी दुवैले सूचना र प्रविधिका क्षेत्रमा क्षमताको विकास गर्नुपर्ने भनेको छ । अर्कातिर आर्थिक सर्वेक्षण २०७६/७७ ले कुल ३५ हजार २२० विद्यालयमध्ये कम्प्युटर सुविधा पुगेको विद्यालय सङ्ख्या ८ हजार ३६६ र सिकाइमा सूचना प्रविधि पुगेका विद्यालय सङ्ख्या ३ हजार ६७६ बताएको छ । यस तथ्याङ्कलाई हेर्ने हो भने वैकल्पिक सिकाइका साधनहरू विद्यार्थीको पहुँचभन्दा टाढा रहेको प्रस्टै छ । यद्यपि वर्तमान सन्दर्भमा सिकाइलाई निरन्तरता दिन वैकल्पिक सिकाइका साधनहरूका बारेमा जनचासो बढ्दो छ । अतः सिकाइ सहजीकरणका वैकल्पिक साधनहरूको चर्चा गर्नु आवश्यक देखिन्छ ।

(क) अभिभावक शिक्षा
बालबालिकाको उमेर अनुसारको विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न चलाइने कार्यक्रम अभिभावक शिक्षा हो । बालबालिकाको सिकाइ र विकासका लागि उपयुक्त वातावरण तयार गर्न अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ । यसको प्रभावकारी तथा नियमित सञ्चालनका लागि वैकल्पिक विधिहरूको प्रयोग गर्नुपर्दछ । निम्न माध्यमबाट अभिभावक शिक्षा सञ्चालन गर्न सकिन्छ:

- गर्भवती भएदेखि नै स्वास्थ्य संस्था तथा वडाबाट
- महिला स्वास्थ्य स्वयम्सेविका तथा पोषण कार्यकर्ताबाट
- समुदायमा रहेका विभिन्न समूह मार्फत, जस्तै आमा समूह, सामुदायिक वन उपभोक्ता समूह तथा अन्य कृषि, बचत सहकारी समूहहरू
- विद्यालयका कक्षा शिक्षकमार्फत बालबालिकाको सिकाइ र विकासका बारेमा अभिभावक अभिमूखीकरण
- बालविकास केन्द्र तथा पूर्व प्राथमिक कक्षाका सहजकर्ता/शिक्षकबाट बालबालिकाको सिकाइ र विकासका बारेमा अभिभावक अभिमूखीकरण
- बालक्लब तथा किशोरकिशोरी क्लब मार्फत अभिभावक तथा समुदाय अभिमूखीकरण
- रेडियो तथा टेलिभिजनबाट अभिभावक सचेतनाका कार्यक्रमहरू प्रशारण

अभिभावक शिक्षाले बालबालिकाको सर्वांगीण विकास, सिकाइको अवस्था, प्रभावकारी सञ्चार तथा सहजीकरणका सिपमा जोड दिनुपर्छ । त्यसैगरी स्वास्थ्य संस्थामा अभिभावक शिक्षा दिन मिल्ने गरी दक्ष जनशक्तिको व्यवस्था गर्ने र विद्यालयका प्रत्येक कक्षा शिक्षकलाई अभिभावक शिक्षा सञ्चालनको लागि क्षमता अभिवृद्धि गर्ने हो भने पहुँचमा बिस्तार गर्न सकिन्छ । अतः स्थानीय निकायसँग समन्वय गरी प्रत्येक वार्डमा कम्तीमा एक जना बालविकासको दक्ष जनशक्ति (सहजकर्ता) तयार गर्ने र नियमित अभिभावक कक्षा सञ्चालन गराउने रेडियो तथा टेलीभिजनबाट नियमित कार्यक्रम प्रशारण गर्ने गर्नुपर्छ ।

(ख) समुदायमा आधारित शिक्षा
विद्यालयमा गरिने औपचारिक अध्ययन अध्यापनको विकल्पको रूपमा निश्चित समुदायका विभिन्न उमेर र कक्षा समूहका बालबालिकाहरूसँग शिक्षक वा स्वयमसेवकहरुबाट गरिने सिकाइ सहजीकरण समुदायमा आधारित शिक्षा हो । यसले छापा सामग्री, रेडियो, टिभी, अफलाइनका लागि बनाइएका सामग्रीहरूको प्रभावकारिता पनि बढाउँछ । समुदायका बालबालिका प्रविधिको पहुँचबाट समेत विमुख रहेको र तत्काल त्यो सम्बोधन गर्न नसकेको अवस्थामा यो विधि सर्वाधिक लाभदायक हुन्छ । बालबालिकाको पहुँच सुनिश्चित गर्नका लागि सम्बन्धित अभिभावकहरूलाई यस प्रकृयामा सँगसँगै लैजाने, स्थानीय स्रोत व्यक्ति, स्थानीय शैक्षणिक सामग्री र स्थानीय भाषामा सहजीकरण गर्दा पहुँच सुनिश्चिततिर सुधार हुन्छ । निम्न माध्यमबाट समुदायमा आधारित शिक्षाको प्रभावकारी प्रयोग गर्न सकिन्छ:
- सहजीकरण कार्य अगाडि नै समुदायको अवस्था अध्ययन, अभिभावक भेला, सहयोगका लागि आग्रह र सहयोगी संरचना निर्माण गर्ने
- कक्षा सञ्चालनका लागि स्थान र आधारभूत सुविधाको व्यवस्थापन गर्ने
- स्वास्थ्य मापदण्ड कायम गर्ने रणनीति र सामग्रीहरूको तयारी गर्नुपर्ने
- मासिक एकाइ योजना तयार गर्ने
- विभिन्न विषयगत, तहगत शिक्षक र स्रोत सहजकर्ताहरूसँग समन्वय गर्ने

(ग) अनलाइन शिक्षा
इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनहरूको पहुँचमा रहेका विद्यार्र्थीहरूको समूहलाई यकिन गर्दै चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षाका सन्दर्भमा पाठ्यक्रमले तोकिएअनुसारका उपलब्धि हासिल हुनेगरी अनलाइन सिकाइ सामग्रीहरूको प्रयोगसहित साइबर सुरक्षा निर्देशिकाको अधीनमा रही विभिन्न एप्लिकेसनहरूको माध्यमद्वारा पठनपाठन गर्ने माध्यम अनलाइन शिक्षा हो । यसले स्वअनुशासन विकासमा बालबालिकालाई मद्दत पु-याउँछ र मानसिक तनाव तथा निराशालाई आत्मबलमा विकास गर्न सहयोग गर्दछ । बालबालिकाहरूलाई नयाँ सिकाइ प्रविधिसँग घुलमिल हुने र त्यससँग सम्बन्धित आवश्यक सिप सिकाइको अवसर प्राप्त हुन्छ । बालबालिकाहरूको पहुँच निक्र्यौल गरी उनीहरूलाई अनलाइन कक्षामा सहभागिताका लागि परामर्श वा अभिभावक अभिमुखीकरण कार्यक्रम तय गर्नुपर्छ । शिक्षक तथा अभिभावकले बालबालिकाहरूलाई अनलाइन कक्षामा आउँदा आउन सक्ने समस्याका बारेमा सचेतीकरण गरी मनोपरामर्श प्रदान गर्नुपर्छ । बालबालिकाहरूलाई सिकाइप्रति आकर्षित गर्नका लागि विभिन्न अडियो भिडियो सामग्री फोटो तथा स्लाइडको प्रस्तुतीकरण बढी मात्रामा गर्नुपर्छ । विद्यार्थीहरूले अध्ययन गर्न बसेको ठाउँमा प्रशस्त मात्रामा प्रकाश र हावा आवतजावत हुने व्यवस्था मिलाइदिन शिक्षकले अभिभावकसँग सहकार्य गर्नुपर्छ । लामो समय डिजिटल स्क्रिनमा हेर्दा आँखामा समस्या हुन नदिन दिनमा दुई पटक बिहान र बेलुका सफा र चिसो पानीले आँखा पखाल्ने, दिनमा कम्तीमा २ देखि ३ लिटर पानी पिउने, बिहानीपख तातो पानीमा सफा कपडा भिजाई निचोरेर आँखालाई सेक्ने, डिजिटल उपकरणको प्रयोग गर्दा प्रत्येक २० मिनेटमा २० सेकेण्डको विश्राम लिने र २० फिट टाढाका वस्तुहरू हेर्ने, दुई घण्टाको निरन्तर प्रयोगमा कम्तिमा १५ मिनेटको ब्रेक अनिवार्य लिने, समय समयमा आँखा झिम्काउने, पूरै बन्द गर्ने र खोल्ने प्रव्रिmया बारम्बार गर्ने तथा सुत्नुभन्दा कम्तीमा १ घण्टा अगाडि नै विद्युतीय उपकरण हेर्न बन्द गर्ने गर्नुपर्छ । यसको पहुँच निम्नानुसार सुनिश्चित गर्न सकिन्छ :
- अभिभावकले आफ्नो बच्चाको लागि डिभाइस तथा इन्टरनेट व्यवस्था गरिदिने
- Device तथा इन्टरनेट सुबिधाबाट वञ्चित समूहका लागि स्थानीय तहले बालबालिकाको सङ्ख्या हेरेर Device तथा इन्टरनेटको सुविधा भएका Cluster Classroom हरूको प्रत्येक टोलटोलमा १ वा २ वटाको सङ्ख्यामा व्यवस्था गरिदिने
- Internet पहुँच भएका विद्यालयले सामाजिक दूरी कायम गरेर एउटा कक्षामा ५ देखि १० जनासम्म विद्यार्र्थीहरुलाई राखेर Device तथा इन्टरनेट सुविधा उपलब्ध गराई अनलाइन कक्षा सहभागितामा सहयोग गर्ने
- वाइफाइ तथा Free Internet सुविधा नभएका ठाउँमा अहिले NTC लगायतका विभिन्न दूर सञ्चार माध्यमहरूले सुपथ मूल्यमा डाटा उपलब्ध गराएर यलष्लिभ कक्षामा जोडिन बालबालिकाहरुलाई सहजता प्रदान गर्दै आइरहेकामा यसलाई अझ सामान्यीकरण गरेर देशका सबै कुनामा रहेका बालबालिकाहरूसमक्ष यो सुविधा पु-याउन सहयोग गर्ने
- नेपाल टेलिकमले सम्पूर्ण विद्यालयका विद्यार्थीहरू, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यलाई आवश्यकता अनुसार ‘पाठशाला CUG सिम’ प्रिपेड मोबाइल सिमकार्ड निःशुल्क उपलब्ध गराउने

(घ) रेडियो शिक्षा
रेडियो शिक्षा सञ्चालनकर्ता, सहजकर्ता, शिक्षक, अभिभावक र विद्यार्थीको सक्षमता अभिवृद्धि गर्ने माध्यम हो । यसले सबै सरोकारवालालाई सचेतीकरण गराउँदछ । महामारी र विपत्का बेला रेडियो शिक्षामार्फत् शिक्षक र अभिभावकलाई मनोसामाजिक परामर्श दिई, बालबालिकाको नकारात्मक व्यवहार र धारणामा परिवर्तन गरी सिकाइ तत्परताको विकास गर्न सकिन्छ । रेडियो शिक्षाले निम्न लिखित कार्य गर्न सकिन्छ :
- वैकल्पिक सिकाइ सहजीकरणलाई अर्थपूर्ण र उद्दे्श्यमूलक बनाउँदै प्रभावकारी सिकाइ सहजीकरण सामग्री तथ्यपूर्ण, सरल, समयसापेक्ष तथा विद्यार्थी र शिक्षक दुवैको ध्यानाकर्षण गर्न सक्ने बनाउन
- बालकेन्द्रित सिकाइबाट ध्यानाकर्षण गर्न, धारणा स्पष्ट पार्न र उत्प्रेरित गर्न, सोच्न, सम्झन, तर्क दिन, क्रियाकलाप गर्न, कल्पना गर्न, कुनै विषयवस्तुप्रति चाख वृद्धि गर्न र व्यक्तिगत सिपको वृद्धि तथा विकास गर्न ।

रेडियो शिक्षालाई प्रविधिको पहुँच, विद्यालयको अवस्था, बालबालिकाको पारिवारिक पृष्ठभूमिले प्रत्यक्ष प्रभाव पार्दछ । दक्ष जनशक्तिको अभाव, स्रोतको अभाव, कमजोर मनोबल, सूचनाको अभाव, लगनशीलताको अभाव, सिक्ने संस्कृतिको अभाव भएमा रेडियो शिक्षाको प्रभावकारी प्रयोग सम्भव हुँदैन । अत: विद्यार्थीको उमेर र व्यक्तित्वका आधारमा सामग्री छनोट, स्थानीय स्तरमा उलपब्ध स्रोत र साधनको तयारी, शैक्षिक सामग्रीको व्यवस्थापन, प्रस्तुतीकरण, प्रतिक्रिया र मूल्याङ्कनका क्षेत्रमा विशेष ध्यान दिनुपर्छ ।

(अ) पूर्व तयारी
कार्यक्रम प्रयोक्ता (शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय) लाई सचेतीकरण गर्ने, कार्यक्रमको उद्देश्य र मूल्याङ्कन प्रक्रियाका बारेमा पूर्व जानकारी गराउने, प्राविधिक जनशक्ति र बजेटको व्यवस्थापन गर्ने, स्थानीय तहले रेडियो शिक्षालाई हेर्ने र अनुगमन गर्ने एउटा संयन्त्र बनाउने ।

(आ) कार्यक्रम प्रसारण
बिच बिचमा कुनै प्रश्न राखिदिने, प्रश्न सोध्नेलाई सम्मान गर्दै कार्यक्रम अन्तरक्रियात्मक बनाउने, विद्यार्थीले तयार गरेका लेख रचना र घरमै बसेर गरेका परियोजना कार्यलाई प्रसारण गरिदिने ।

(इ) कार्यक्रम प्रसारणपश्चात्
कार्यक्रम प्रसारण भएपछि अभिभावक, शिक्षक वा अन्य सरोकारवालाबाट निरन्तर फिडब्याक लिने, आगामी कार्यक्रममा सिकारुको रुचिअनुसार आआफ्ना परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गरिदिने ।

हाम्रो परिवेशमा विद्यार्थीसमक्ष पुग्ने उपयुक्त माध्यम भनेको रेडियो हो । कक्षाकोठाभित्रको प्रत्यक्ष सिकाइ सहजीकरण प्रक्रिया यतिखेर रेडियो शिक्षाका माध्यमले अगाडि बढ्दै छ । सबैलाई सिकाइ प्रक्रियामा जोड्न र यसको प्रयोग सुनिश्चित गर्न निम्नानुसार कार्य गर्नुपर्छ :
- कुन रेडियो वा एफएम रेडियोले कुन बार, कुन समयमा केकस्ता शैक्षिक कार्यक्रम प्रसारण गर्छन् भन्ने सूचना दिने
- सहज, सुलभ र सबैको पहुँचमा वैकल्पिक शिक्षा कार्यक्रम विस्तारीकरणमा जोड दिने
- श्रवण शक्ति कमजोर भएका विद्यार्थीलाई थप वैकल्पिक सहजीकरणको योजना बनाउने
- सहजकर्ता, विद्यार्थी र अभिभावकलाई प्रविधिमैत्री बनाउँदै समय व्यवस्थापन गर्न उत्प्रेरित गर्ने

(ङ) स्वाध्ययन सामग्री
विभिन्न वैकल्पिक विधिहरूमध्ये स्वाध्ययन सामग्रीको प्रयोग पनि एउटा प्रभावकारी सिकाइको विधि हो । सिकाइलाई निरन्तरता दिन, विभिन्न क्रियाकलापहरुमा संलग्न गराई पाठ्यक्रमले तोकेको न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न, खोजमूलक सिकाइमा प्रेरित गर्न, घर र समुदायमा घट्ने घटना र परिवेशलाई सिकाइसँग जोड्न स्वाध्ययन सामग्रीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । अत्याधिक प्रयोगमा आएका केही स्वाध्ययन सामग्रीहरू निम्न प्रकारका छन् :
- विद्यार्थी कार्यपुस्तिका
- खोजमूलक कार्यहरू
- घरमै गर्न सकिने परियोजना कार्य
- छोटा श्रव्य, दृश्य सामग्रीहरू
- कथा, कविता, खेल

स्वाध्ययन सामग्रीको खोज र निर्माण गर्नका लागि शिक्षक तथा अभिभावकहरूलाई प्राविधिक रूपमा सहयोग र अभिमूखीकरण गर्नुपर्छ । त्यसैगरी प्रत्येक विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको समुदायमा मानव संसाधन नक्साङ्कन (Human Resource Mapping) गर्नुपर्छ । । बालबालिकाको सङ्ख्या र घरहरूबिचको दुरीको आधारमा प्रत्येक समुदायमा केही सिकाइ केन्द्रहरू निर्माण गर्नुपर्र्छ । प्रत्येक सिकाइ केन्द्रमा सहजकर्ता परिचालन गर्ने, समुदायभित्र बालबालिकाको स–साना समूहहरु निर्माण गर्ने र उपलब्ध गराइएको स्वाध्ययन सामग्रीहरूको बारेमा छलफल चलाई आवश्यक सहयोग र पृष्ठपोषण दिनुपर्छ । स्थानीय सन्दर्भ, चाडबाड, रीतिरिवाज, वेशभूषा, संस्कृतिलाई मध्यनजर गरी स्वाध्ययन सामग्रीहरूको निर्माण गर्नुपर्छ ।

(च) टेलिफोन शिक्षा
टेलिफोन, एसएमएसमार्फत वैकल्पिक सिकाइ सहजीकरण गर्नु टेलिफोन शिक्षा हो । वैकल्पिक शिक्षामा पहुँच र प्रभावकारी बनाउन टेलिफोनमा आधारित शिक्षण महत्त्वपूर्ण हुन्छ । टेलिफोन र एसएमएस मार्फत शिक्षकले अभिभावक वा विद्यार्र्थीलाई सिकाइ सहजीकरण गर्न, टेलिफोन वृक्षमार्फत शिक्षकले ‘क’ विद्यार्थीलाई बताएको क्रियाकलाप, पाठ वा सिकाइ सारलाई ‘क’ विद्यार्थीले अन्य पाँच विद्यार्थीलाई टेलिफोनमार्फत सिकाउन र टेलिफोन कार्यशाला गरी शिक्षकले एकैपटकमा ६ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ । यस प्रक्रियाले सिकाइलाई बालकेन्द्रित गरी दिगो र परिणाममुखी बनाउन सहयोगी गर्छ । सिकाइको अवसर सबैलाई समान रूपमा प्रदान गर्न सकिन्छ । विशेषगरी कमजोर विद्यार्थीको सिकाइमा सबलता प्राप्त हुन्छ । विद्यार्थीमा सञ्चार सिप र टेलिफोन प्रविधिको उचित प्रयोगसम्बन्धी सिप हासिल हुन्छ । यसको पहुँच बिस्तारका लागि निम्नानुसारको काम गर्नुपर्छ :
- हरेक घरधुरीमा सहजीकरण गर्ने एक जना अभिभावक तोक्ने
- तोकिएको अभिभावक घरमा नहुँदा पनि बालबालिकालाई सिकाइ क्रियाकलाप पुग्ने गरी वैकल्पिक अभिभावक वा छिमेकी पनि तोक्ने
- हरेक घरमा पढाइ र सिकाइ कुनाको स्थापना गर्न प्रेरित गर्ने र सकेसम्म आवश्यक हुनासाथ शिक्षकलाई सम्पर्क गर्न मिल्ने गरी टेलिफोनमा पहुँच सुनिश्चित गर्ने
- सबै अभिभावकलाई विद्यालयले नेपाल टेलिकमको CUG सर्भिसमा दर्ता गर्ने ।

(छ) टेलिभिजन शिक्षा
प्रभावकारी र व्यवस्थित सिकाइ गर्ने माध्यम टेलिभिजन शिक्षा पनि हो । सिकाइलाई निरन्तरता दिन र २१ औँ शताब्दीको शिक्षा प्रणालीलाई अवलम्बन गर्न, बालकेन्द्रित सिकाइ गर्न र सिकाइलाई रुचिपूर्ण बनाउन टेलिभिजन शिक्षा प्रभावकारी हुन सक्छ । यसले हेर्दै रमाउदै सिक्ने वातावरण सिर्जना गर्न, ध्यानाकर्षण गर्न, सोच्ने र तर्क गर्ने क्षमता अभिवृद्धि गर्न मदत गर्छ । टलिभिजन शिक्षामा बालबालिकाको उमेरगत र तहगत आधारमा स्थानीय स्रोत र सामग्री प्रयोग गरी प्रस्तुतीमा पनि विशेष ध्यान दिनुपर्छ । साथै निम्न तयारी गर्नु पर्दछ :

कार्यक्रम सञ्चालन
(अ) पूर्व तयारी
- पाठलाई नक्साङ्कन गर्ने
- पावरप्वइन्ट, मेटाकार्ड, शब्दपत्ती, अर्थपत्ती, वाक्यपत्ती निर्माण गर्ने
- विषय विज्ञसँग निरन्तर रूपमा सल्लाह सहयोग लिने
- निर्धारित समय र पाठ्यवस्तुका बारेमा प्रस्ट हुने
- शिक्षक तथा अभिभावकलाई अभिमुुखीकरण गरी उद्देश्य, सञ्चालन पक्रिया र महत्त्वबारे प्रस्ट पार्ने
- बालबालिकालाई सक्रिय सहभागी गराउन विद्यालय तथा अभिभावकलाई घचघच्याउने
- कार्यक्रमको निरन्तरताका लागि अन्य सरोकारवालासँग छलफल गर्ने

(आ) कार्यक्रम प्रसारण
- सिकारुको सिकाइ स्तर हेरी प्रस्तुति दिने
- प्रस्तोता ज्ञान, सिप र दक्षतामा निपुण हुने गरी तयारी गरेर प्रस्तुति गर्ने
- पाठमा आधारित शिक्षणका लागि कक्षा कोठा जस्तो वातावरण देखाउने
- कार्यक्रमको बिच बिचमा शिक्षक, विद्यार्थी तथा अभिभावकबाट सल्लाह सुुझाव सङ्कलन गर्ने
- विद्यार्थीको सक्रिय सहभागिताका लागि समय तालिका निर्धारण गरी दिने
- निरास र पट्यार लाग्दो नहोस् भनेर कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउने
- बाल सहभागितापूर्ण रूपमा गराई कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउने

(इ) कार्यक्रम प्रसारणपश्चात्
- नियमित उपस्थित भएको कुुरा घर परिवारले जानकारीमा राखी सम्बन्धित ठाउँमा जानकारी गराउने
- तहगत र उमेरगत चेक लिष्ट, समूहमा, जोडीमा र एक्लै सिकाइ परियोजना कार्य लिने दिने
- विद्यार्थीले प्रत्यक्ष लाभ लिए नलिएको अनुुगमन गर्ने र कठिनाइको मात्रा पहिचान गरी समस्या समाधानको व्यवस्था मिलाउने

टेलिभिजनमार्फत सिकाइ सहजीकरण गर्दा स्थानीय तहले टेलिभिजनको पहुँच भएका र नभएका बालबालिका छुट्टयाएर कार्यक्रम सुुनिश्चित गर्नुपर्छ । केन्द्रीय वा स्थानीय प्रसारणमार्फत कार्यक्रम संचालन गर्नुपर्छ । कक्षागत र विषयगत तालिका बनाई सार्वजनिक गरिदिनुपर्छ । विद्यालयले पहुँच भएका र नभएका बालबालिकाको अभिलेख तयार गर्नुपर्छ । स्थानीय तह र विद्यालयबिच समन्वय हुनुपर्छ । शिक्षकलाई सहजकर्ताका रुपमा परिचालन गरी विद्यार्थी अभिभावक भेटघाट कार्यक्रममा सल्लाह लिने र दिने गर्नुपर्छ । कार्यक्रमको जानकारी, उद्देश्य र आवश्यक सहयोग बारे अभिभावकलाई सचेतीकरण गर्ने, टेलिभिजन शिक्षाबारे आवश्यक तहको सबै जानकारी राख्ने र कुशल रोल मोडलको भूमिका निर्वाह गर्ने काम शिक्षकले गर्नुपर्दछ । अभिभावकले हरेक दिन आफ्ना नानीबाबुका क्रियाकलापमा ध्यान दिने र आवश्यक सामग्रीको व्यवस्थापन गरीदिई समय र स्थानको व्यवस्थापन गरी दिनुपर्छ ।

निष्कर्ष
सिकाइ निरन्तरताका लागि विभिन्न प्रयत्नहरू भए पनि सूचना र प्रविधिको पहुँच नहुँदा प्रभावकारी बन्न सकेन भन्ने जनगुनासो सुनिँदै आएको छ । समस्या समाधानार्थ सिकाइ सहजीकरण केन्द्र स्थापना गर्ने, शिक्षक तथा विद्यार्थीको सहभागितामा सिकाइ सहजीकरण कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने/गराउने, पहुँच विस्तारमा थप कार्यक्रम तर्जुमा गर्ने र क्षमता अभिवृद्धि तालिम प्याकेज बनाउने कामले प्राथमिकता पाउनुपर्छ । शिक्षकलाई स्रोत शिक्षकका रूपमा प्रोत्साहन गर्ने, विद्यार्थी र शिक्षक दुवैलाई सिकाइ प्रक्रियासँग जोड्ने र वैकल्पिक सिकाइलाई मूल्याङ्कनसँग जोड्न थप कार्यव्रmममा जोड दिनुपर्छ । सबैभन्दा धेरैको पहुँच भएको रेडियो सिकाइको प्रभावकारी वैकल्पिक माध्यम बन्न सक्छ । रेडियो, टिभी जस्ता एकतर्फी सञ्चार माध्यमलाई दोहोरो हुने गरी रुचिकर बनाउनेगर्फ प्रयास गर्नु आवश्यक छ । समुदायमा आधारित शिक्षाका माध्यमबाट बालबालिकालाई प्रविधिको पहुँचमा जोड्दै अभिभावकहरूमा वैकल्पिक सिकाइसम्बन्धी ज्ञान, सिप र सकारात्मक धारणा निर्माण गर्न सक्दा यसको पहुँच बिस्तारसहित प्रभावकारी प्रयोग गर्न सकिने छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०८१ बिहिवार - ०९:०२:२१ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology