काठमाडौँ । नेपालमा अहिले मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका अधिकांश भूभागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।
तराईका अधिकांश भूभागमा आंशिक बदली रहनेछ। बिहानीपख केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।