काठमाडौँ । नेपालमा हाल मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार अहिले हिमाली क्षेत्रमा आंशिक बदली छ भने पहाडी र तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ। केही स्थानमा आंशिक बदली देखिएको छ।
आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
तराईका अधिकांश भूभागमा भने राति मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।