काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले असोज १६ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो।
बोर्डको अनुमतिअनुसार हिम पर्वत हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न पाउनेछ। कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएसँगै बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या १११ मा झरेको छ।
आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका १११ कम्पनीले कुल ४९ करोड ५ लाख २० कित्ता साधारण सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन्। ती कम्पनीले आईपीओमार्फत करिब ६५ अर्ब ३२ करोड ६३ लाख ८० हजार रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेका छन्।
हिम पर्वत हाइड्रोपावरको आवेदन स्वीकृत भएसँगै अब बाँकी १११ कम्पनीको आईपीओ प्रस्ताव बोर्डको स्वीकृतिको पर्खाइमा छ। लामो समयदेखि आईपीओ निष्कासन अनुमति प्रक्रिया सुस्त हुँदा कम्पनीहरूको आवेदन ठूलो संख्यामा थुप्रिएको थियो। पछिल्लो समय बोर्डले अनुमति दिन थालेपछि आईपीओ पाइपलाइनमा रहेका कम्पनीको संख्या क्रमशः घट्न थालेको हो।
आईपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीको संख्या ठूलो भए पनि प्राथमिक बजारमा नयाँ कम्पनी भित्र्याउने विषयमा गुणस्तर र लगानीकर्ताको हितलाई लिएर बहस हुँदै आएको छ। विशेषगरी वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा ल्याउने सरकारी नीति, व्यवसाय विस्तारका लागि आवश्यक पुँजी जुटाउने कम्पनीको आवश्यकता र सर्वसाधारणको प्राथमिक बजारप्रतिको आकर्षणका कारण आईपीओको पाइपलाइन लामो बनेको छ।