Logo

सोमवार, आश्विन १९ गते २०८३

images

प्रवासबाट कांग्रेस केन्द्रीय सदस्य बन्न दौडधुप

प्रवासबाट कांग्रेस केन्द्रीय सदस्य बन्न दौडधुप

दैनिकी न्यूज

१८, आश्विन २०८३
प्रवासबाट कांग्रेस केन्द्रीय सदस्य बन्न दौडधुप
images

काठमाडौं । नेपाली कांग्रेसको संशोधित विधानले विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य बन्ने बाटो खोलेपछि प्रवासमा रहेका कांग्रेस नेताहरूबीच प्रतिस्पर्धा तीव्र भएको छ ।

कांग्रेसको नयाँ व्यवस्थाअनुसार विदेशस्थित जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य चयन हुनेछन् । भारतबाट एक, एसियाबाट एक, युरोपबाट एक, मध्यपूर्वबाट एक, अमेरिका–क्यानडा–अस्ट्रेलियालगायत क्षेत्रबाट एक तथा महिलाबाट एक जना चयन हुने व्यवस्था छ ।

यो व्यवस्थासँगै विभिन्न देशमा लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय नेताहरूले केन्द्रीय सदस्यका लागि आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । यद्यपि उम्मेदवारीको अन्तिम तस्वीर भने अझै स्पष्ट भइसकेको छैन ।

भारतबाट नेपाली जनसम्पर्क समितिका पूर्वसभापति तथा कांग्रेसका आमन्त्रित पूर्वकेन्द्रीय सदस्य बालकृष्ण पाण्डे आकांक्षी देखिएका छन् । भारतमा लामो समयदेखि कांग्रेसको संगठनसँग जोडिएका पाण्डेको दाबीलाई बलियो रूपमा हेरिएको छ ।

युरोपबाट बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिकी पूर्वसभापति सीता सापकोटाले उम्मेदवारी घोषणा गरिसकेकी छन् । जनसम्पर्क समितिमार्फत कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सक्रिय भूमिका निर्वाह गरेकी सापकोटा लामो समयदेखि प्रवासमा कांग्रेस संगठनसँग जोडिएकी छन् ।

अमेरिका क्षेत्रबाट गैरआवासीय नेपाली संघ (एनआरएनए)की पूर्वकेन्द्रीय अध्यक्ष रविना थापा पनि आकांक्षीका रूपमा देखिएकी छन् । उनी अमेरिकास्थित नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन् ।

एसिया क्षेत्रबाट जापानस्थित नेपाली जनसम्पर्क समितिका नारायण सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । करिब दुई दशकदेखि जापानमा रहेका सुवेदी व्यवसायसँगै कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय छन् ।

मलेसियाबाट जनसम्पर्क समितिका संरक्षक तथा पूर्वउपसभापति विनोद थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मलेसियाका व्यवसायी तथा एनआरएनए मलेसियाका पूर्वअध्यक्ष थापा प्रवासमा कांग्रेस संगठन विस्तारमा सक्रिय रहँदै आएका छन् ।

दक्षिण कोरियाबाट जनसम्पर्क समितिका पूर्वअध्यक्षद्वय गिरिराज कुँवर र नवराज सिवाकोटीले पनि एसिया क्षेत्रबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । एउटै क्षेत्रबाट दुई आकांक्षी देखिएपछि सहमतिको प्रयाससमेत भइरहेको छ ।

मध्यपूर्वमा पनि आकांक्षीको संख्या बढ्दो छ । कतारबाट राज रेग्मी र विमल सुवेदीले दाबी प्रस्तुत गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)बाट खेमराज बस्नेतले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार अघि बढाएका छन् । बहराइनबाट पदमसुन्दर गुरुङ पनि आकांक्षीका रूपमा देखिएका छन् ।

मध्यपूर्वका लागि एक जना मात्र केन्द्रीय सदस्य चयन हुने भएकाले यस क्षेत्रका देशहरूबीच साझा उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको छ ।

युरोपमा पनि आकांक्षीको संख्या उल्लेख्य छ । आयरल्यान्डस्थित जनसम्पर्क समितिका पूर्वसभापति अंकित ओलीले उम्मेदवारी दिने तयारी गरेका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका ओली सन् २०१७ देखि आयरल्यान्डमा रहँदै आएका छन् ।

जर्मनीबाट टंक लम्साल र विजय मोक्तान आकांक्षी छन् । एउटै देशबाट दुई जनाको दाबी रहेकाले सहमति जुटाएर एक जनालाई अघि बढाउने प्रयास भइरहेको छ । बेलायतबाट जनसम्पर्क समितिमा आबद्ध विश्व आदर्श पण्डित पनि आकांक्षी छन् ।

त्यस्तै नेदरल्यान्ड्सबाट शालिक गौतम र स्पेनबाट इन्द्र शर्मा अधिकारीलगायतले पनि केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन् ।

तर उम्मेदवारीको अन्तिम सूची भने असोज २० गतेपछि मात्रै स्पष्ट हुने देखिएको छ । जनसम्पर्क समितिबाट उम्मेदवारीका विषयमा विभिन्न देशमा तीव्र छलफल भइरहेकाले अहिले सार्वजनिक भएका नाममध्ये केहीले अन्तिम समयमा आफ्नो दाबी फिर्ता लिन सक्ने सम्भावना पनि छ ।

विशेषगरी जनसम्पर्क समितिका वर्तमान अध्यक्ष तथा पदाधिकारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन नपाउने व्यवस्थाका कारण केही देशका इच्छुक नेताहरू पछि हटेका छन् ।

संशोधित विधानले जनसम्पर्क समितिको अध्यक्ष बन्न क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बन्न पनि क्रियाशील नेपाली नागरिक हुनुका साथै पार्टी सदस्यता अनिवार्य गरिएको छ ।

महाधिवेशन प्रतिनिधिको संख्या पनि जनसम्पर्क समितिको सदस्यताका आधारमा निर्धारण गरिएको छ । कम्तीमा एक सय सदस्य रहेको देशको समितिबाट सभापतिसहित दुई जना महाधिवेशन प्रतिनिधि बन्न पाउनेछन् । पाँच सय वा त्यसभन्दा बढी सदस्य रहेको समितिबाट सभापतिसहित सात जना र दुई हजार वा त्यसभन्दा बढी सदस्य रहेको समितिबाट सभापतिसहित १४ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।

यसअघि विदेशमा रहेका कांग्रेस नेता–कार्यकर्ताले जनसम्पर्क समितिमार्फत संगठनमा योगदान गरे पनि पार्टीको केन्द्रीय तहमा प्रत्यक्ष प्रतिनिधित्वको अवसर सीमित थियो । नयाँ व्यवस्थाले भने प्रवासमा सक्रिय कांग्रेस नेताहरूलाई केन्द्रीय नेतृत्वमा पुग्ने संस्थागत बाटो खोलेको छ ।

कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको रत्नपार्कमा उद्घाटन हुँदैछ । महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढेसँगै प्रवासबाट केन्द्रीय सदस्यका लागि देखिएका आकांक्षीमध्ये कसले उम्मेदवारी कायम राख्छन् र कुन क्षेत्रबाट कसले बाजी मार्छ भन्ने टुंगो लाग्नेछ ।

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - ११:२३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology