Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कृषि र ग्रामीण पर्यटनमा सम्भावनाको बोकेको दक्षिण ललितपुर

कृषि र ग्रामीण पर्यटनमा सम्भावनाको बोकेको दक्षिण ललितपुर

रामहरि कार्की

८, पौष २०८०
कृषि र ग्रामीण पर्यटनमा सम्भावनाको बोकेको दक्षिण ललितपुर
images

‘राजधानीको कर्णाली’को रूपमा ललितपुरको दक्षिण पहाडी भेगलाई लिने गरिन्छ । यहाँ आवश्यक पूर्वाधारको विकास गर्दै आकर्षक गन्तव्य बनाउने प्रशस्त सम्भावना छ । तर ग्रामीण पर्यटन र कृषि सम्भावनाको बोकेको दक्षिण ललितपुरमा सरोकारवाला निकायको जति ध्यान पुग्नुपर्ने हो, त्यति पुगेको पाइँदैन । विगतको तुलनामा दक्षिण ललितपुरका कोन्ज्योसोम, महांकाल र बागगती गाउँपालिकाका बासिन्दाले स्वास्थ्य, शिक्षा, यातायातमा थोरै राहत महसुस गरेपनि यहाँको जीवनस्तरलाई उकास्न र कृषि सम्भावना खोज्न गरिएका प्रयासहरू कमजोर छन् ।
पूर्वाधार विकास गरी पर्यटन तथा कृषिको विकास गर्ने योजना यस क्षेत्रका जनप्रतिनिधिले बारम्बार उठान गर्दै आएपनि अपेक्षाकृत सुधार हुन सकेको छैन । जसका कारण दक्षिण ललितपुर अर्थात् राजधानी नजिकको सुन्दर गाउँको सम्भावना ओझेलमा छ ।

दक्षिण ललितपुरको विकासबारे यस क्षेत्रमा नेता, व्यवसायी तथा सरकारी तहले जतिसुकै एजेण्डा उठाएपनि त्यसले मूर्त रूप पाउन सकेको छैन । सार्वजनिक सभा, समारोहमा बहस, राजनीतिक बैठक, चुनावी एजेण्डामा यसका विषय समावेश गरेका पाइन्छ । दक्षिण ललितपुरलाई उकास्न एकीकृत कार्ययोजना हालसम्म पनि बनेको छैन । ती गाउँपालिकाभित्र लुकेको पर्यटकीय तथा कृषिको सम्भावना खोज्न नसक्दा र एकीकृत विकासको योजना अघि नसार्दा यी गाउँपालिकाको विषेशता ओझेलिन पुगेको छ ।

gokarneshwor nagarpalika.jpg

ललितपुरको दक्षिण भेग विशेषत तामाङ समुदायको धार्मिक विशेषता भएको ठाउँ पनि हो । यहाँ धार्मिक, पुरातात्विक महत्व र पर्यटकीय दृष्टिले भरिपूर्ण ठाउँहरू थुप्रै छन् । ती ठाउँहरूलाई पर्यटक आकर्षकको गन्तव्य बनाउन सकिन्छ । हाल दक्षिण ललितपुरमा पूर्वाधार विकासका थोरै मात्रै काम भएको छ । ग्रामीण क्षेत्र जोड्ने सबैजसो सडक निर्माण भएपनि ती सडक टिकाउ छैनन् । अर्थात् पक्की सडक निकै कम छन् । वर्खाको बेला झरीसँगै सडक ओहोरदोहोर गर्न कठीन हुन्छ । लगातार झरी परेको बेला दक्षिण ललितपुर सहरी क्षेत्रसँग सम्पर्कविहीन जस्तै हुन्छ । भट्टेडाँडा क्षेत्रमा पहिरो बढी जाने भएकोले सडक बन्द भएपछि त्यहाँबाट यता सवारीसाधन ओहोरदोहोरमा समस्या हुन्छ । त्यसकारण यसलाई मध्यनजर गरी सडक व्यवस्थित पार्न जरुरी पनि देखिन्छ ।

यी हुन पयर्टकीय क्षेत्र
राजधानी नजिकको गाउँ दक्षिण ललितपुर पयर्टकीय हिसाबमा निकै महत्वपूर्ण ठाउँ हो । यहाँको एकदेखि १५ दिनसम्मको प्याकेज टुर गर्न सकिन्छ । तीनवटै गाउँपालिकालाई समेटेर पर्यटकहरू प्याकेज टुर गर्न सक्छन् । यहाँ प्रसस्त जङ्गल छ, पर्यटकीय मठ मन्दिर छन् । गुम्वा र ताल तलैया छन् । दक्षिण ललितपुरका केहि ठाउँमा चट्टान आरोहण गर्न मिल्ने ठाउँहरू पनि छन् । त्यस्तै विकास गर्ने हो भने यहाँ प्याराग्लाइडिङ व्यवसाय पनि सम्भव छ । यस क्षेत्रको अर्को विशेषता भनेको गुफा हो । गोटीखेलमा त्रिवेणी वैतरणीधाम र घडघडा नदी छ ।
दक्षिण ललितपुरमको महांकाल क्षेत्रमा रहेको केहि ठाउँलाई घुम्ती मार्ग बनाउन सकिन्छ । यहाँ शिवालय मन्दिर र टापुहरू छन् । त्यस्तै विभिन्न अध्ययन तथा अनुसन्धानको लागि आवश्यक ठाउँहरू यही पाइन्छन् भने जडिबुटी खेती गर्न सुहाउने जमिन छ । हाल दक्षिण ललितपुरमा लोठ सल्ला, कफी, अनारलगायत खेती पनि भइरहेको पाइन्छ । यसबाहेक अन्य एग्रो टुरिजमको सम्भावना पनि दक्षिण ललितपुरले बोकेको छ । दक्षित ललितपुरकै अर्को विषेशता भनेको यहाँ खेलकुदको पनि सम्भावना छन् । यहाँ खेल मैदान बनाउन मिल्ने समथर ठाउँहरू पनि छन् ।

कहाँ कहाँ केके सम्भावना ?
दक्षिण ललितपुरमै पर्ने देवीचौरस्थित सुन्तली डाँडा अग्लो छ । यहाँबाट उपत्यकाका तीनै जिल्ला नियाल्न सकिन्छ भने हिमशृंखला पनि देखिन्छ । यस क्षेत्रबाट तराईको रौतहटदेखि वीरगन्ज क्षेत्रसम्म देख्न सकिन्छ भने हरियाली वनजङ्गलले पर्यटकलाई मोहित पार्छ । त्यस्तै इकुडोलको रमिते, गोटीखेलको बुर्जा र बुखेलको बिमिरे डाँडा पनि सम्भावना बोकेको पर्यटकीय डाँडा हो । यहाँबाट पनि सजिलै दृश्यहरू अवलोकन गर्न पाइन्छ । गोटीखेलमा रहेको कालेश्वर महादेवस्थान मन्दिर क्षेत्र पनि यहाँको लोभलाग्दो गन्तव्य हो । यो ठाउँलाई धार्मिक तथा भ्यु प्वाइन्टको रूपमा लिन सकिन्छ । त्यस्तै कालेश्वरमा रहेको मृगबिसौना, काभ्रेको सीमासँग जोडिएको देउराली थुम्का डाँडा पनि अग्लो भ्यु प्वाइन्ट मानिन्छ । यहाँबाट पनि विभिन्न जिल्ला तथा हिमशृंखलाहरू हेर्न पाइन्छ ।

विकासको सम्भावना भएका ठाउँ
दक्षिण ललितपुरको मानिखेललाई पनि पर्यटन विकासको सम्भावना मान्न सकिन्छ । यहाँको खोर भञ्ज्याङलाई पनि पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिन्छ । त्यस्तै दक्षिण ललितपुरमा गुप्तेश्वर गुफा, चमेरे गुफा, महादेव गुफा, नागगुफालाई पयर्टकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । पर्याप्त पूर्वाधार तथा प्रचार प्रसार नगरिएकोले यस क्षेत्रमा हिजोआज निकै कम सङ्ख्यामा पर्यटक जाने गरेका छन् भने विदेशी पर्यटकको उपस्थिति शुन्य छ । त्यस्तै फुल्चोकी डाँडा र इकुडोलमा केबुलकारको सम्भावना छ । तर यहाँ केवलकार राख्ने योजना यस क्षेत्रका जनप्रतिनिधिको छैन । कतिपय जनप्रतिनिधिले चुनावी एजेण्डा बनाउने गरेपनि त्यसलाई मुर्त रूप दिन सकिरहेका छैनन् ।

जङ्गल सफारी, चट्टान आरोहण
यस क्षेत्रमा घना जङ्गलहरू पनि छन् । त्यो क्षेत्रलाई व्यवस्थित बनाएर जङ्गल सफारीको प्याकेज बनाउन सकिने सम्भावना पनि छ । यसको लागि चौघरे–ठोस्ने खोलासम्मको सडक आसपासमा जङ्गललाई पनि पनि प्याकेजका रूपमा बनाउन सकिन्छ । यहाँबाट वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ । त्यस्तै जङ्गली क्षेत्रको बीचबाट सडक बनेकोले मूल मोटरबाटोबाटै मृग, खरायो, कालिज, हरिण, जरायो, मृगजस्ता वन्यजन्तु देख्न पाइन्छ । सोहि कारण पनि जङ्गल सफारीको सम्भावना छ । त्यस्तै भारदेउ–गुप्तेश्वर डाँडामा निस्केर टुटुवाबाट कालेश्वरको मृगबिसौना हँुदै बतासेडाँडासम्म पनि पुग्न सकिन्छ । यसलाई एक दिने जङ्गल सफारी प्याकेज बनाउन सकिन्छ । चौघरे, मृगबिसौना, देउराली क्षेत्रको जङ्गलमा पनि जङ्गल सफारी गराउन सकिन्छ । त्यस्तै कालेश्वर महादेव मन्दिर क्षेत्रमा पर्ने पार्वती डाँडा र कालेश्वर महादेव डाँडाको नजिकै रहेको चट्टान आरोहण तथा अवलोकन पनि गर्न सकिन्छ । त्यस्तै पर्यटक तान्नको लागि माल्टा क्षेत्रमा जलयात्रा गर्न सकिन्छ । यस क्षेत्रमा रहेका मगर संस्कृति, नाच र संस्कृति झल्कने कुराहरू पयर्टकलाई देखाउन सकिन्छ ।

कुन क्षेत्रलाई केको पकेटक्षेत्र बनाउने ?
दक्षिण ललितपुरलाई कृषि सम्भावना भएको क्षेत्र मानिन्छ । यस क्षेत्रमा पकेट एरिया नै छुट्याएर पर्यटन तथा कृषि कार्य गर्न सकिन्छ । यसमध्ये चापागाउँ क्षेत्रलाई च्याउको पकेट क्षेत्र बनाउन सकिन्छ भने कालेश्वर–बुखेल चियाको पकेट क्षेत्र बनाएर काम गर्न सकिन्छ । त्यस्तै कालेश्वर, गिम्दीलगायत क्षेत्रमा कफी खेती गर्न सकिन्छ । जिल्लाको दक्षिण पश्चिमी क्षेत्र दलहन र तेलहन बाली गर्न सकिने सम्भावना छ भने यस क्षेत्रमा भैंसीपालन र दूध व्यवसायको पनि ठूलो सम्भावना छ । हाल पनि यस क्षेत्रबाट दैनिक हजारौ लिटर दुध उत्पादन भइरहेको छ । बढी दुध उत्पादन हुने भएकोले यस क्षेत्रलाई दुध, घिउ र खुवाको पकेटक्षेत्र बनाउन सकिन्छ ।

कहाँ कहाँ हुनसक्छ धार्मिक प्याकेज
दक्षिण ललितपुर धार्मिक तथा ऐतिहासिक हिसाबमा पनि महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा रहेको विभिन्न धार्मिक मठ मन्दिरलाई लक्षित गरेर धार्मिक प्याकेज बनाउन सकिन्छ । लोग्तुक गुम्बा, नागगुफा, टीकाभैरव, बतासे, तिलेश्वर, गुप्तेश्वर, महदेव मन्दिर, गुप्तेश्वर, वैतरणी, कालेश्वर गढी, शिसवन, चमेरे गुफा, रमिते, माझखण्डको बुद्ध विहार, गुम्बा, भट्टेडाँडा, सुन्तोलीडाँडामा स्वर्गद्वारी मन्दिरलगायत त्यस्तै दक्षिण ललितपुरकै नल्लु डाँडामा पाथीभरा मन्दिर रहेको छ भने मानिखेल बुद्ध विहारहरू बनाइएका छन् ।
त्यस्तै लेले सगरकोट कोताथुम्का डाँडास्थित लिच्छविकालीन दरबार छ । यो दरबारको संरक्षण गरी पयर्टक पनि तान्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुरा
दक्षिण ललितपुर काठमाडौं नजिकको सम्भावना बोकेको ठाउँ हो । यस क्षेत्रका जनप्रतिनिधि र आमनागरिक मिलेर दक्षिण ललितपुरलाई कायापलट पार्न सकिन्छ । तर यसमा मुख्य भूमिका जनप्रतिनिधि र स्थानीय सरकारकै हुन्छ । स्थानीय सरकारले खेतीपाती गर्न चाहनेलाई सहजता प्रदान गर्नुपर्छ । दक्षिण ललितपुरको अर्को समस्या भनेको यहाँका गाउँहरू पनि विस्तारै रित्तिदै छन् । अहिले ६० वर्ष कटेका मानिस मात्रै पहाडी क्षेत्रमा भेटिन्छन् । त्यसकारण युवावर्ग गाउँमै रोक्ने र उनीहरूलाई रोजगार पनि मिल्नेगरी ग्रामीण कृषि पर्यटनमा लगानी गर्न आवश्यक छ ।

images
प्रकाशित मिति :पौष ८, २०८० आइतवार - ०७:३६:०१ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology