Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओझेलमा परेका सहिद दुर्गाराज पौडेल

ओझेलमा परेका सहिद दुर्गाराज पौडेल

देवीदत्त पौडेल

३१, श्रावण २०७७
ओझेलमा परेका सहिद दुर्गाराज पौडेल
images

देवीदत्त पौडेल/  नेपालमा चलेको दस वर्षे वर्गसङ्घर्षमा त्यही मृत्युलाई रोज्ने सपूत हुन् दुर्गाराज पौडेल अर्थात् सुरज । दुर्गाराज पौडेल दस वर्षे वर्गसङ्घर्षका क्रममा सप्तरी जिल्लाबाट प्राण उत्सर्ग गर्ने जिल्लाकै प्रथम सहिद हुन् । २०४५ सालमा किसान संगठनमा संगठित भई वर्गीय मुक्ति आन्दोलनमा एकाकार भएका उनलाई २०५५ साल श्रावण ३१ गते उदयपुर जिल्लाका तत्कालीन डिएसपी रमेश खरेलको नेतृत्वमा आफ्नै घरबाट कब्जामा लिई चुरेको जङ्गलमा लगेर कायरतापूर्ण तरिकाले हत्या गरियो । घरबाट कब्जामा लिई दोहोरो भिडन्तको नाममा घरभन्दा दस किलोमिटर टाढा लगेर हत्या गरेको घटनालाई राज्यले आफ्नो बहादुरी ठान्यो ।

रेडियोको समाचार, पत्रपत्रिकामा छापिएका समाचार त्यतिखेर पूर्वाग्रही थिए । जसको असर दुर्गाराज पौडेलको परिवार र गाउँलेलेलाई पछिसम्म परिरह्यो । दुर्गाराज पौडेलजस्ता हजारौँ सहिदहरूको त्याग र बलिदानबाट माओवादी पार्टी बन्यो । ‘माओवादी’ पार्टी मात्र होइन एउटा आन्दोलनको रूपमा स्थापित भयो । जनताको आशा र भरोसा कमायो । आज त्यही पार्टी टुक्राटुक्रामा विभाजित हुँदै कतै क्रान्ति गर्ने नामका ससाना पसलहरू थापेर आत्मरति लिइँदै छ भने कतै विकास र समृद्धिका नाममा पार्टी एकीकरण गरेर विचार, राजनीतिलाई नै एमालेकरण गरिँदै छ । यहाँसम्म आइपुग्दा सहिदको त्याग र बलिदानले राजनीतिक रूपमा विशिष्ट परिवर्तन गरेपनि हजारौँ सहिदहरू गुमनाम भएका छन्, सपनाको अवसान भएको छ र सिङ्गो सहिद परिवार उत्पीडित बनेको छ । यसको ज्वलन्त उदाहरण नै सहिद दुर्गाराज पौडेल र उनका परिवार हुन् ।

यतिखेर गुमनामको लिस्टमा परेको, विभाजित माओवादी समूहदेखि पूर्व माओवादी केन्द्रसहितको एकतापश्चात् बनेको नेकपाले बिर्सिएको नाम हो दुर्गाराज पौडेल । आज २२औँ वार्षिक स्मृतिको दिन, पछिल्ला १६ वर्षदेखि उनको सम्झनामा एउटा सानो औपचारिकता पनि पूरा गर्न छाडेको छ माओवादी समूहदेखि अढाइ वर्ष अगाडि एकीकरण भएर बनेको नेकपाले ।

बाबुको सहादतपछि त्यहीबाटो रोज्यो उनको परिवारले । क. दुर्गाराजकी जेठी छोरी नौ कक्षामा पढ्दापढ्दै २०५९ मा जनयुद्धमा लागिन् र उनी क. हिरा भइन् । धेरै मोर्चाहरू लडिन् । पार्टी शान्तिप्रक्रियामा आएसँगै बाँचेको नाफाको जीवनलाई क्यान्टोनमेन्टमा राखिन् र अन्ततः अयोग्य लडाकुको बिल्ला भिरेर रुँदै घर फिर्किइन् । पिताले देखाएको बाटोमा मृत्युलाई जित्न गएकी उनी अयोग्यको बिल्ला भिरेदेखि नै व्यक्तिगत जीवन बिताइरहेकी छिन् । हालसम्म न उनलाई पार्टीले नै वास्ता गरेको छ, न जिम्मेवारी नै दिएको छ । हिजोको त्याग र सङ्घर्ष त्यत्तिकै खेर गएको जस्तो लागेको छ उनलाई ।

जिल्लाको प्रथम सहिद हुनु आफैँमा गर्वको कुरा हो तर त्यो गर्व पार्टीले गरेको व्यवहारबाट देखिँदैन । पहिलो संविधान सभाको चुनावपछि पार्टीले सरकारको नेतृत्व गर्‍यो। नेताहरू मन्त्री बने । सानोतिनो काममा अल्झाइदिनु पर्‍यो भनेर दुर्गाराज पौडेलका छोरा गोपाल पौडेल धेरैदिनसम्म सिंहदरबारमा भौतारिए तर कसैले वास्ता गरेनन् । घरको अवस्था नाजुक हुँदै गएका कारणले उनले पढाइलाई पनि निरन्तरता दिन सकेनन् । यतिखेर उनी खाँडी मुलुकमा गएर रगत र पसिना बेचिरहेका छन् ।

कमरेड दुर्गाराजको परिवारमा त्यतिखेर सास्ती नपाउने कोही थिएनन् । उनकी आमाको मृत्यु ६५ वर्षकै उमेरमा राज्यले दिएको मानसिक यातना र पीरका कारणले भयो । उनका पिता त्यसबेलाको दमन र तनाबका कारण लामो समयसम्म रोगी जीवन बिताएर २०७५ जेठ २८ गते संसारबाट सधैँका लागि विदा भएका छन् । उनको हत्या हुँदा गर्वमै रहेकी कान्छी छोरी अरूको साहारामा स्नातक पढ्दै थिइन्। परिस्थिति अनुकूल नभएकाले उनको पढ्ने इच्छामा समेत विश्राम लाग्यो । सहिद पत्नीको अवस्था यति दर्दनाक छ, जसलाई लेखेर साध्य छैन । उनका लागि पार्टी बिरानो भएको छ । नेता पराइ भएका छन् । गाउँको राजनीति माहोल बदलिएकाले जीवनयापन असहज बन्दै छ ।

कमरेड दुर्गाराजका जेठा दाजु विष्णुप्रसाद पौडेल राजनीतिमा निकै सक्रिय थिए । जेलनेल, यातना, भूमिगत जीवन सबै बिताएका थिए । पार्टी विभाजनसँगै उनी पनि निष्क्रिय भए । हाल डिप्रेसनबाट बच्न आध्यात्मिक आरधनातिर लागेका छन् । कान्छो भाइ म १७ पटकसम्म गिरफ्तार भएँ । लगभग तीन वर्षसम्म हिरासत र जेलमा बसेँ । आफू पनि पार्टीमा देखिएको गुटबन्दी, गैरसर्वहारावादी संस्कृति र छाडापनबाट आजित बन्दै गएको अवस्था छ । जनताले नेकपालाई विश्वास गरे । दुई तिहाइ मतसहित सरकार सञ्चालनको अवसर दिए । सरकार श्रमिकका पक्षमा, किसानका पक्षमा, उत्पीडित वर्ग तथा समूदायका पक्षमा केही गर्दैन । काण्डैकाण्डको घेरामा दिनानुदिन जेलिँदै छ । पार्टी विधिबाट चल्दैन । तलसम्म एकता गर्ने इच्छाशक्ति देखाउँदैनन् । यस्तै बेथितिका बिच पनि रूपान्तरणको गीत गाउनुपरेको छ ।

आज हामीजस्ता कयौँ सहिद परिवारका सदस्यहरू अपमान र तिरस्कार रहँदै बाँचिरहेका छौँ । आज नेताहरूको वर्ग बदलिएको छ । सोच र चिन्तन बदलिएको छ । वर्गीय माया बदलिएको छ । क्रमशः वर्गप्रतिको इमानदारिता बदलिँदै गएको छ । आज इमानदार कार्यकर्ता र सहिद परिवारले कुनै समस्या समाधानार्थ सहजै नेताहरू भेट्ने अवस्था छैन, भेटे पनि समस्या समाधान व्यवहारतः गरिँदैन । सहिद दुर्गाराज त प्रतिनिधि उदाहरण मात्र हुन् । आज थुप्रै दुर्गाराजहरू गुमनाम छन् । आज थुप्रै गोपालहरू खाँडी मुलुकमा श्रम बेच्न विवश छन् । आज थुप्रै हिराहरू राजनीति अपमान झेल्दै छन् । अनि पार्टी कसरी बन्छ ? हे नेता हो, सहिद परिवारका हैसियतले हाम्रो आग्रह छ– सहिदहरूको त्याग र बलिदानलाई सम्मान गरौँ । सहिदका अधुरा र अपूरा सपनाहरू पूरा गर्ने बाटोमा आन्दोलनलाई उठाऔँ । अतः पार्टीले नसम्झे पनि ती प्राणभन्दा प्रिय महान् सहिद दुर्गाराज पौडेलप्रति श्रद्धासुमन, । वीर सहिद लालसलाम ।
(लेखक सहिदका कान्छा भाइ हुन् ।)

images
प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - २०:१५:११ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology