Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ब्याजदर घट्यो, बढेन नयाँ कर्जा प्रवाह

ब्याजदर घट्यो, बढेन नयाँ कर्जा प्रवाह

दैनिकी न्यूज

२०, श्रावण २०७७
ब्याजदर घट्यो, बढेन नयाँ कर्जा प्रवाह
images

काठमाडौं । बन्दाबन्दी अन्त्य भएको करीब २ साता बितिसक्दा पनि बैंकबाट प्रवाह हुने नयाँ कर्जा बढ्न सकेको छैन । बैंकहरूले कर्जाको ब्याजदर घटाए पनि बैंकमा नयाँ कर्जा लिन ऋणीहरू खासै नआएको बैंकरहरू बताउँछन् ।

वाणिज्य बैंकहरूबाट गत असारमा थप ८६ अर्ब रुपैयाँको कर्जा प्रवाह भए पनि साउनको १६ दिनमा ३६ अर्ब ९५ करोड रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ । गत असारसम्म २७ ओटा वाणिज्य बैंकबाट प्रवाहित कर्जाको उठ्न बाँकी रकम रू। २९ खर्ब ३ अर्ब रहेको छ । साउन १६ गतेसम्ममा यस्तो कर्जा २८ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ छ ।
थप कर्जा प्रवाह हुन नसक्दा वाणिज्य बैंकको कर्जा वैशाख र जेठमा ऋणात्मक देखिएको थियो । गत वैशाखमा कुल कर्जामा १६ अर्ब रुपैयाँले ऋणात्मक भएको थियो । गत जेठमा भने कुल कर्जामा १३ अर्ब रुपैयाँले नकारात्मक भएको थियो ।

बैंकबाट प्रवाहित कर्जामा संकुचन भए पनि निक्षेप भने बढेको छ । असारमा वाणिज्य बैंकहरूले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने साउन १६ सम्ममा थप ४९ करोड रुपैयाँ मात्र थप निक्षेप संकलन भएको छ । वैशाख मसान्तमा कुल निक्षेप ३२ खर्ब १९ अर्ब रुपैयाँ पुगेकोमा जेठमा बढेर ३२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय कर्जा प्रवाह बढाउन बैंकहरूले ब्याजदर घटाए र छूटसमेत दिए । बैंकहरूले असारदेखि एकल अंकमा आधार दर लागू गर्दा कर्जाको ब्याजदर करीब २ प्रतिशतको हाराहारीमा घटाएका थिए । कोभिडबाट प्रभावितलाई राहतस्वरूप कर्जाको ब्याजमा छूटको स्किमसमेत ल्याएका छन् । यसो गर्दा पनि अपेक्षा गरेअनुसारको नयाँ कर्जा थप हुन नसकेको बैंकरहरू बताउँछन् ।

सबै व्यवसाय पहिलाकै अवस्थामा नआइसकेकाले बजारमा कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको ग्लोबल आईएमई बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल बताउँछन् । ‘बरु असारमा कर्जा प्रवाहमा अलिकति सुधार भएको थियो । तर, अहिले कर्जा वृद्धि ऋणात्मक छ । चाडपर्व आएपछि कर्जाको माग हुने अपेक्षा गरेका छौं,’ उनले भने । कर्जाको ब्याज घटाएर ऋणी तानातान गर्ने प्रतिस्पर्धा देखिएको उनको भनाइ छ ।

आर्थिक अभियानमा ममता थापाले लेखेका छन ।

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०६:१०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology