धादिङ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मेगा बैंक नेपालले धादिङबेसीमा रहेको शाखाका सबै सेवा तत्कालका लागि बन्द गरेको छ। बैंकमा कार्यरत एक कर्मचारीमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बैंकले सम्पूर्ण सेवा बन्द गरेको हो।
बैंकका शाखा प्रमुख अभिषेक खनालका अनुसार सदरमुकाम धादिङबेशीमा मेगा बैंकको दुईवटा शाखामा २२ जना कर्मचारी कार्यरत छन्। केही दिन अघिमात्रै मेगा बैंकमा गाभिएको गण्डकी विकास बैंकको शाखा पनि सञ्चालनमै रहेको छ।
आँखामा समस्या देखिएपछि शल्यक्रिया गर्न अस्पतालले पीसीआर रिपोर्ट मागेपछि बैंकका ति कर्मचारीलाई नीलकण्ठ नगरपालिकाबाट स्वाब परिक्षण गर्न साउन ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।
बुधवार सार्वजनिक भएको पीसीआर पोजेटिभ हुनेहरु धादिङको सिद्धलेक ४ का एक जना, नीलकण्ठ १२ का बैंक कर्मचारीसहित दुई जना, नीलकण्ठ ४ का तीन जना र खनियावास २ का १ जना रहेका छन्।