काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ७४१ जनामा पिसीआर परीक्षणमा १५६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे आइतबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ जना पुगेको छ ।
आज काठमाडौंका १ जना र ललितपुरका २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार आइतबार देशभर २२ हजार ६६२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ९२३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज ५८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।