Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वर्षा रोकिएपछि सामान्य हुँदै जनजीवन

वर्षा रोकिएपछि सामान्य हुँदै जनजीवन

दैनिकी न्यूज

१, श्रावण २०७७
वर्षा रोकिएपछि सामान्य हुँदै जनजीवन
images

महोत्तर । लगातारको झरी वर्षाले वाक्कदिक्क भएका महोत्तरीवासी बल्ल सामान्य जीवनमा फर्कँदै छन् । पछिल्ला ६ दिनदेखिको मुसलधारे वर्षापछि मौसम सफा भएसँगै बल्ल सामान्य हुन थालेका हुन् । गत बुधबारयता ६ दिनको लगातारको मुसलधारे वर्षाले जताततै जलमग्न बनाएपछि डुबान र कटानले घरखेत बगाउने त्रास छाएको थियो ।

‘बल्ल २ दिनदेखि उघ्रेको छ, हामी त घरमै कुँजिएका थियौँ’, पानीले ढाकेको घरआँगन देखाउँदै जलेश्वर नगरपालिका(१ का सुधिर साहले भने, ‘बर्खा हो कतिखेर फेरि भेल उर्लने हो पत्तै हुँदैन ।’ चारैतिर पानीले डम्म ढाकिएको हुँदा नदीमा आउने बाढीबारे पत्तै नपाई घर बग्ने गरेको जलेश्वरवासी बताउँछन् ।

जिल्लाको उत्तरी क्षेत्रमा कटान र मध्य एवं दक्षिणी क्षेत्रमा पछिल्लो वर्षासँगैको बाढीले कटान र डुबान गराउँदा खेतीपाती र सडक संरचनामा निकै क्षति भएको छ ।

पछिल्लोपटक मौसममा सुधार हुनासाथ करिब एकसाता घरमै कुँजिएका महोत्तरीवासीलाई  सोमबारयता घाम लागेपछि बल्ल बाहिरी काममा लाग्ने अनुकूलता भएको छ । ३ दिनको चर्को घामले अब डुबानको पानी क्रमशः घट्दै गएको डुबान क्षेत्रका सर्वसाधारण बताउँछन् । मौसम सफा देखिएर घाम लागेपछि झण्डै १ साता गोठमै रहेका पशुवस्तु  बल्ल राम्ररी आङ तान्न पाएका छन् ।


घाम लागे पनि चरनक्षेत्र अझै जलाम्य भएकाले पशुवस्तुको आहार घरमै जुटाउनुपरेको पशुपालक किसान बताउँछन् । यद्यपि वस्तु फुकाएर डुलाउनसम्म पाइएको भङ्गाहा नगरपालिका–६ हतिसर्वाका पशुपालक किसान सीताराम सरदारले बताए ।

मौसम सफा देखिएपछि किसान बल्ल अब खेतका खोलिएका गह्रा मिलाउन लागेका छन् । ‘असार मध्यमै पानी परेर धान रोप्न पाउँदा दङ्ग थियौँ,’ बलवा नगरपालिका(१० धमौराका किसान मन्सुर कवारीले भने, ‘अहिले कति रोपो बगाएको छ अड्कल नै छैन, खेत पानीले डम्म भरिएका छन्, पानी बगेर रोपो देखिन नै एक÷दुई दिन लाग्ने होला ।’

झरी थामिएसँगै डुबानको पानी घट्दै गएपछि घर नै लड्ने हो कि भन्ने त्रासमा रहेका सर्वसाधारणले सन्तोषको सास भने  फेरेका छन् । महोत्तरीमा असारमध्यसँगै पानी पर्न थाले पनि असार २४ गतेदेखि २९ गतेसम्म ६ दिन चाहिँ एक छिन घाम नदेखिएर मुसलधारे वर्षा हुँदा यहाँको जनजीवन आकुलव्याकुल बनेको थियो ।

छैटौँ दिन घाम देखिएपछि लुगा धोएर गुजारा चलाउने धोबीको व्यस्तता पछिल्ला ३ दिनयता निकै बढेको छ । धोबीह एकसाता पहिले धुन लिइएका लुगा धोएर दिउँसभरि घाममा र साँझपछि हावा लाग्ने ठाउँमा सुकाइरहेका देखिएका छन् । पानी रोकिएसँगै यहाँका नदीमा जलस्तर स्वात्तै घटेको छ । लगातारको वर्षाले करिब एक साता ठप्प भएका पसल धमाधम खोलिएका छन् । पछिल्ला तीन दिनयता लगातार मौसम सफा देखिँदा बजारु चहलपहल पनि ह्वात्तै बढेको छ ।

मौसम सफा भएपछि बाढीले भत्काएका संरचना मर्मत गर्न पनि सहज भएको छ । यसपालि पछिल्लो छ दिनबीचको वर्षासँगैको बाढीले दर्जनौँ ठाउँमा सडक कटान गरेको छ भने रातु नदीका तटबन्ध २र३ ठाउँमा भत्काएको छ । अहिले तटबन्ध भत्केको ठाउँमा सुरक्षा जवानको सहयोगले मर्मतको काम थालिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

यसैबीच असार मसान्तताका वर्षा थामिएर मौसम सफा भएको अवसरलाई विपद् सामना गर्ने पूर्वतयारीमा लगाउनुपर्ने सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । साउन र भदौ मुख्य वर्षाकाल भएका हुँदा त्यतिखेर आइपर्नसक्ने विपद्को  पूर्वतयारीका लागि अहिले उघ्रेको समय अनुकूल हुने रतौली युवा क्लबका अध्यक्ष वैद्यनाथ चौधरी बताउँछन् । यस पूर्वतयारीमा सरकारका स्थायी अङ्गसँगै सामाजिक सङ्घसंस्था र आम जनसमुदायलाई परिचालित गर्नसके डुबान र कटानको क्षति घटाउन सकिने  सामाजिक सङ्घसंस्थाका प्रतिनिधि बताउँछन् ।

महोत्तरीमा बर्सेनि बाढीले कटान र डुबान गर्दा धनजनको क्षति हुँदै आएको छ । जिल्ला भएर बग्ने रातु, बडहरी, अङ्कुशी, जङ्घा, मरहा, भब्सी, टुटेश्वर, खयरमारा, गणन्ता, ढोलनखोला र बाँकेलगायतका नदीको बाढीले बर्सेनि ४० हजार मानिस प्रभावित हुँदै आएका छन् । रासस

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १०:४२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology