Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना परीक्षणका लागि काठमाडौँ उपत्यकामा ५ हजारको नमूना संकलन

कोरोना परीक्षणका लागि काठमाडौँ उपत्यकामा ५ हजारको नमूना संकलन

दैनिकी न्यूज

२६, आषाढ २०७७
कोरोना परीक्षणका लागि काठमाडौँ उपत्यकामा ५ हजारको नमूना संकलन
images

काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पीसीआर परीक्षण गर्नका लागि नमूना संकलन गरेको छ।

बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना संकलन गरिरहेको छ। महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना संकलन गर्न थालिएको जानकारी दिए।

महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना संकलन गरेको छ। महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना संकलन गरिने बताए।

अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ। यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना संकलन गरिनेछ। उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो। महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना संकलन गरिसक्ने बताए। महाशाखाले बिहीबार कलंकी, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना संकलन गरेको थियो।

यस्तै आज ललितपुरको भैंसेपाटी, काठमाडौँका नयाँ बानेश्वर र नयाँ सडक तथा भक्तपुरमा गई टोलीले नमूना संकलन गर्दै छ। उनले दैनिक पाँच दिनसम्म एक हजारको दरले नमूना संकलन गरिने बताए। केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का संक्रमित भेटिएपछि जोखिम बढेको छ। केही दिनअघि एकैदिन उपत्यकामा ५४ संक्रमित भेटिएका थिए।

यस्तै मुलुक बाहिरबाट आउने मानिसको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी०ले नमूना संकलन गर्नेछ। सीसीएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना संकलन गर्नेछ। सीसीएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ।

अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ। यस्तै १६ हजार ५३१ जनामा संक्रमण देखिएको छ। रासस

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १५:४७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology