काठमाडौं । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने ६ जनालाई चन्द्रागिरी नगरपालिका(१५ ढुंङ्गेअड्डाबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल नगरपालिका–४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखान नगरपालिका(३ घर भएका ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका–२ घर भएका ३३ वर्षीय हरि बहादुर लामिछाने, काठमाडौँ तारकेश्वर नगरपालिका(११ घर भएका ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका–८ घर भएका ३४ वर्षीय रोशन तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको १६ पाना ५ करोड रुपैँयामा खरिद बिक्रीको लागि छलफल गरीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये जनक गिरीको साथबाट तिव्वेतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको उक्त बुद्ध धर्मको पाना बरामद भएको हो ।
उनीहरू उपर प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।