Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो

विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो

दैनिकी न्यूज

२३, आषाढ २०७७
विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो
images

काठमाडौं। स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब नीतिगत निर्णय लिन बाटो खुलेको हो ।

कोरोना भाइरस रोगले लामो समयदेखि विश्वविद्यालयको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कनका लागि उत्पन्न अवरोध हटाउन यस खालको निर्देशिका जारी गरिएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीपछि सबै विश्वविद्यालयका परीक्षा लगायतका शैक्षिक कार्यक्रमको क्यालेन्डरमा अवरोध आएको छ ।

आयोगका अध्यक्ष प्रा। भीमप्रसाद सुवेदीले विश्वविद्यालयहरूको परीक्षा र त्यसको मूल्याङ्कनमा सहज होस् भनेर नै विश्वविद्यालयहरूलाई सहजीकरण गरिएको बताउनुभयो । निर्देशिकाअनुसार अब विश्वविद्यालयहरूले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भर्चुअल विधिबाट परीक्षा लिन सक्नेछन् भने कुनै कारणवश परीक्षा लिन नसकिएको अवस्थामा आन्तरिक मूल्याङ्कनका आधारमा माथिल्लो सेमेस्टर कक्षामा पठाउन सकिने छ ।


कुनै विषयको प्रयोगात्मक परीक्षा लिन नसकिएको अवस्थामा पनि अर्को सेमेस्टरमा लिन सकिने गरी अगाडि बढ्न सक्ने सुवेदीले बताउनुभयो । धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालय तथा विषयको हकमा भने आफूहरूले विभिन्न विकल्प प्रस्तुत गरेको जानकारी उहाँले दिनुभयो । सोअनुसार सम्भव भए सामाजिक दूरी कायम गरेर परीक्षा लिन पनि विश्वविद्यालयहरूले सक्नेछन् । परीक्षा लिन सम्भव नभएको अवस्थामा परीक्षाको मोडल तथा प्रश्नपत्रको प्रकृति परिवर्तन गरेर पनि परीक्षा लिन सकिने व्यवस्था गरिएको छ ।

‘‘विद्यार्थीलाई अब घरमै लेखेर ल्याउनुस् भनेर पनि परीक्षा लिनुपर्ने हुन सक्छ तर यसका लागि प्रश्न सोध्ने विगतको प्रवृत्तिमा परिवर्तन गर्नुपर्छ,’’ आयोगका अध्यक्ष सुवेदीले भने । विगत जस्तो तीन घण्टा बन्द कोठामा बसेर विद्यार्थीसँग परीक्षा लिन सक्ने अवस्था नभएका कारण पनि परीक्षा लिने नयाँ विकल्प खोजिएको उनको भनाइ छ । उहाँका अनुसार सम्भव भएको अवस्थामा विश्वविद्यालयको अवस्था हेरी क्षेत्रगत रूपमा परीक्षा लिन सकिने बाटो समेत खोलिएको छ ।

विश्वविद्यालयहरूले अब अनुुदान आयोगको निर्देशिका परिधिभित्र रहेर परीक्षा सञ्चालन तथा विद्यार्थीको मूल्याङ्कन गर्ने उनको भनाइ छ । साथै विश्वविद्यालयमा विद्यार्थीको सङ्ख्या तथा तह हेरेर निर्णय गर्न सक्ने अध्यक्ष सुवेदी बताउनुहुन्छ । विद्यावारिधि, एमफिल, स्नातकोत्तर तथा स्नातक तहमा परीक्षा प्रणाली फरक हुन सक्ने र विश्वविद्यालयहरूले आफ्नो अनुकूूलतामा निर्णय गर्न सक्ने जनाइएको छ । तर यो निर्णय विशेष सङ्कटका बेलाका लागि मात्रै भएको उल्लेख गर्दै सुवेदीले त्यसपछि विश्वविद्यालयहरू आफ्नै हिसाबले अघि बढ्न सक्ने बताए ।

विश्वविद्यालयहरू परीक्षा सञ्चालन तथा मूल्याङ्कनमा स्वायत्त भए पनि सबै विश्वविद्यालयमा एकरूपता होस् र विश्वविद्यालयलाई आफ्नो व्यावहारिकता हेरी निर्णय लिन सहज होस् भनेर सरकारको निर्देशनमा यस खालको नीति निर्देशक दस्तावेज तयार गरिएको बताइएको छ । हाल विश्वविद्यालयहरूले अनलाइन कक्षा सञ्चालनबाहेक अन्य कार्यक्रम स्थगन नै गरेका छन् ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०७:३५:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology