काठमाडौं । गण्डकी विकास बैंकलाई प्राप्ति गरेको मेगा बैंक नेपाल लिमिटेडले यही असार २१ गते आइतबारबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ।
मंगलबार दुवै बैंकले संयुक्त सुचना सार्वजनीक गर्दै असार २१ गते देखि एकीकृत कारोबार गर्ने जानकारी गराएका हुन् ।
गण्डकी विकास बैंक मेगामा गाभिए पछि मेगा बैंकको नामबाट कारोबार हुनेछ । मेगा र गण्डकीले एकीकृत कारोबार गर्नको लागि असार २० गते शनिवार सम्पूर्ण सेवाहरु बन्द रहनेछ । मेगा बैंकले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयरको अनुपातमा प्राप्ति गरेको हो ।
एकीकृत कारोबार पछि मेगा बैंकको शाखा सञ्जाल ५८ वटा जिल्लामा फैलने भएको छ भने देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान,कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने छ ।
अब हुने मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ । शाखा संख्या २ सय ६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा र एटीएम १४२ वटा हुनेछन् ।
दुवै बैंकको गतजेठ २१ गते सम्पन्न विशेष साधारणसभाबाट यो प्राप्ति प्रक्रियालाई पारित गरेको थियो। नेपाल राष्ट्र बैंकबाट गत असार १० गते प्राप्त अन्तिम स्वीकृति र कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असार १४ गते गण्डकी विकास बैंकको प्राप्ति हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण चल अलच सम्पत्ति तथा दायित्वहरु प्राप्ति गर्ने मेगा बैंकले सकार्ने स्वीकृति प्राप्त भएको थियो ।