Logo

आइतवार, श्रावण २४ गते २०८३

images

३ महीनादेखि शेयरबजार बन्दः धितोपत्र बोर्ड अध्ययनमै रुमलिँदै

३ महीनादेखि शेयरबजार बन्दः धितोपत्र बोर्ड अध्ययनमै रुमलिँदै

दैनिकी न्यूज

९, आषाढ २०७७
३ महीनादेखि शेयरबजार बन्दः धितोपत्र बोर्ड अध्ययनमै रुमलिँदै
images

काठमाडौं । झन्डै १७ लाख लगानीकर्ता रहेको र पछिल्लो कारोबारअनुसार १५ खर्बभन्दा बढी पूँजीकरण भएको नेपालको शेयरबजार ३ महीनाभन्दा बढी समय बन्द रहे पनि यसलाई खुलाउन नियामक निकाय धितोपत्र बोर्ड र तालुकदार मन्त्रालय दुवैले कुनै चासो देखाएका छैनन् ।

राजस्व घट्यो भनेर करमा कडाइ गर्ने अर्थ मन्त्रालयसमेत कर प्राप्त गर्ने एउटा बजार बन्द हुँदा बेखबर बन्नु रहस्यमय भएको लगानीकर्ताको भनाइ छ । सरकारले बन्दाबन्दीलाई खुकुलो बनाई केही सीमित व्यवसायमा मात्र सञ्चालनमा रोक लगाएको अवस्थामा समेत पूँजीबजार जस्तो संवेदनशील क्षेत्र नखुल्दा लगानीकर्ता आक्रोशितसमेत बनेका छन् ।

बोर्डले सोमवार शेयरबजार सुचारू गराउन सकिने वा नसकिने विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ । समितिमा बोर्डको नेतृत्व रहने गरी सरोकारवाला निकायहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र लगानीकर्ता संघका एक जना सदस्य छन् ।

केही अत्यावश्यक सेवाबाहेक सबैजसो व्यवसाय सुचारू भएको अवस्थामा नियामक निकायले समिति बनाउने र अरूलाई सोध्ने गर्नु आवश्यक नभएको सरोकारवालाहरूको भनाइ छ । लगानीकर्ता एवं शेयर विश्लेषक दिलीप मुनकर्मी यसलाई नियामक निकायको कमजोरी बताउँछन् ।

धितोपत्र बोर्ड भने बैंक इन्टिग्रेशन, टी प्लस वन ९एकै दिनमा राफासाफ गराउने० जस्ता धेरै कुरा सुधार गरेर मात्रै बजार खोलाउने पक्षमा देखिन्छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बजार सुचारू भई फेरि बन्द गर्नुपर्ने अवस्था नआओस् भन्ने उदेश्यले आफूले काम गरिरहेको बताए । हालको बजारको अवस्था र सुधारका कामहरू पहिचान गरेर मात्र अघि बढ्ने बोर्डको योजना रहेको अध्यक्ष ढुंगानाको भनाइ छ । उनका अनुसार कमिटीले शुक्रवारसम्म बोर्डमा प्रतिवेदन पेश गर्नुपर्नेछ । ‘बजार लामो समय बन्द भइसक्यो । यसले हाम्रा भावी योजनामा पनि असर पर्ने हुँदा जतिसक्दो चाँडो सुचारू गर्न पहल गरिरहेका छौं,’ ढुंगानाले भने, ‘समितिको प्रतिवेदनको आधारमा बजार सुचारू हुनेछ ।’

लगानीकर्ता भने ३० महीनासम्म बजार बन्द हुँदा यसमा सुधार ल्याउने विषयमा केही नगर्ने तर अहिले बजार खोल्न दबाब परेपछि सुधार गरेर मात्रै खोल्ने भन्ने कुरा तर्कसंगत नभएको बताउँछन् । आफूहरूले बजार पनि खोल्ने र देखिएका कमजोरी सुधार गर्दै जानुपर्छ भने पनि बोर्डले वास्ता नगरेको उनीहरूको भनाइ छ ।

लगानीकर्ता एवं शेयर विश्लेषक प्रकाश तिवारी यसरी अनिश्चित कालसम्म बजार बन्द गराउँदा पूँजी निर्माण र तरलता नहुने बताउँछन् । गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने तयारी गरिरहेका बेला यस्तो बन्दले विश्वबजारमै नराम्रो सन्देश जाने तिवारीको भनाइ छ । ‘बोर्डले ९० दिनसम्म बजार बन्द हुँदा के ग¥यो ? अहिले आएर सुधार नगरी बजार खोल्दिन भन्नु गलत हो,’ तिवारीले भने ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नभएको बताउँदै आएका छन् ।

बोर्डले निर्देशन दिनेबित्तिकै आफूहरू बजार खोल्न तयार रहेको साउदको भनाइ छ । प्रणालीमा जोडिन लगानीकर्ता आफैले युजर नेम र पासवर्ड लिनुपर्ने भएकाले त्यसका लागि नेप्सेले आग्रह गरिरहेको उनले बताए । कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै राफसाफ गरी विदेशबाट धेरैले कारोबार गरिरहेको जानकारी दिँदै उनले सबै लगानीकर्तालाई बैंक खाता इन्ट्रिग्रेशन गर्न अनुरोध गरेका छन् ।

बजार खुलाउनुपर्ने शेयर दलालहरूको भनाइ छ । ‘पहिले नै खोल्नुपथ्र्यो, रोक्न नहुने थियो । तर, अहिले धेरै व्यवसाय सञ्चालनमा आइसकेकाले शेयरबजार पनि खोल्नुपर्छ,’ नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरी रिमालले भने, ‘बजार घट्छ भनेर रोक्नु हुँदैन । २७ वर्षदेखि चलिआएको शेयरबजार यसरी बन्द गर्दा नराम्रो सन्देश जान्छ ।’ बजार बन्द हुँदा सरकारले दैनिक लाखौं राजस्व गुमाइरहेको उनको कथन छ ।

बजार खोल्न हुने र नहुनेमा लगानीकर्ता विभाजित छन् । शेयर लगानीकर्ता संघ (नेपाल) का अध्यक्ष उत्तम अर्यालले कुनै व्यक्तिको चाहनाभन्दा पनि नीति र नियमलाई आधार बनाएर बजार सञ्चालन हुनुपर्नेमा जोड दिए । शेयर कारोबारमा सहभागी करीब ३ लाख लगानीकर्तामध्ये ५१ प्रतिशत सहभागी हुने गरी अनलाइन कारोबार प्रणालीमा आबद्ध गराउन सरोकारवाला निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए । बन्दाबन्दीका बीच २ दिन खुलेको कारोबारले ६३ अर्बभन्दा बढी सम्पत्ति गुमाएका लगानीकर्ता पुनः बजार सुचारू हुँदा मार्जिन कलको मारमा पर्ने भएकाले यसो हुन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने माग उनको छ ।

आर्थिक अभियानमा प्रजिता बुढाथोकीले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - ०६:३६:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology