Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रमुख शहरमा युवाको प्रदर्शन

प्रमुख शहरमा युवाको प्रदर्शन

दैनिकी न्यूज

३०, जेठ २०७७
प्रमुख शहरमा युवाको प्रदर्शन
images

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरे पनि क्वारेन्टाइन व्यवस्थापन र पीसीआर परीक्षण गर्न नसक्दा युवाहरू आक्रोशित भएर स्वस्पूmर्त रूपमा सडकमा उत्रिएका छन् ।

सरकारलाई जवाफदेही बनाउन युवाहरू विगत ३ दिनदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । लकडाउन भएयता अहिले भएको यो प्रदर्शन सबैभन्दा ठूलो हो, जसको नेतृत्व कुनै राजनीतिक दल वा समूहले गरेको पाइँदैन ।

सरकारले कोरोना संकट समाधान गर्न लकडाउनलाई मात्र अस्त्र बनाएको, अपारदर्शी र गैरजिम्मेवार रूपले काम गरिरहेको भन्दै युवाहरूले सामाजिक सञ्जालमार्पmत अभियान चलाई प्रदर्शन थालेका हुन् । बिहीवार काठमाडौं, पोखरा, धनगढी, विराटनगर, सुर्खेत र चितवनलगायत विभिन्न ३० ओटा जिल्लामा युवाहरूले प्रदर्शन गरेका छन् । युवाहरूले प्रदर्शनका लागि थप कार्यक्रमसमेत सामाजिक सञ्जालमार्फत अघि सारेका छन् । गृह मन्त्रालयले भने प्रदर्शन नगर्न चेतावनी दिएको छ ।

कोरोना परीक्षण शतप्रतिशत पीसीआर विधिमार्फत गुर्नुपर्ने, आरडीटी परीक्षण तत्काल बन्द गरिनुपर्ने, डाक्टरहरूलाई पर्याप्त मात्रामा पीपीईलगायत अत्यावश्यक सामान उपलब्ध गराइनुपर्ने, क्वारेन्टाइन स्थलहरू डब्ल्यूएचओको मापदण्डअनुसार हुनुपर्ने र सरकारले कोरोना नियन्त्रणका लागि खर्चिएको १० अर्बको हिसाब पारदर्शी रूपमा सार्वजनिक गुर्नपर्नेलगायत माग उनीहरूले राखेका छन् ।

प्रदर्शनमा सहभागी स्मृति बरालले आफूहरू कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नभएको र स्वःस्पूmर्त रूपमा सरकारलाई सचेत र जिम्मेवार बनाउनका लागि दबाब दिन सडकमा उत्रिएको बताएकी छन् । ‘हामीले कुनै पनि राजनीतिक एजेन्डा बोकेका छैनौं त्यसैले यस प्रदर्शनमा राजनीति नघुसाउन र स्वतन्त्र रूपमा यसलाई बुझ्न आग्रह गर्छौं,’ उनले भनिन् ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न गएका युवाहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीहरूको भीड तितरवितर पार्न पानीको फोहोरासमेत हानेको थियो । यसै क्रममा प्रहरी झडपमा परी केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । कास्की संवाददाताका अनुसार पोखरामा युवाहरूले कोरोना रोकथाममा प्रभावकारी कार्य नगरेको भनी सरकारको विरोधमा प्रदर्शन गरेका छन् । ‘स्वतन्त्र पोखरेली’को नाममा जिल्ला प्रशासन कार्यालय कास्की अगाडि हजारौंको संख्यामा उपस्थित युवाले प्रदर्शन गरेका हुन् ।

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम नचालेको तथा पीसीआरको दायरा नबढाएको भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा युवाहरूले प्रधानमन्त्रीका कारण जनताले दुःख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, व्यवसायीसँग कर लिन खोजेको, पीसीआरको दायरा नबढाएकोलगायत विभिन्न नारा लेखेको प्लेकार्डसहित नाराबाजी गरेका छन् ।

सामाजिक सञ्जालबाट आह्वान गरिएको उक्त प्रदर्शनका क्रममा विमलबहादुर पहारी र प्रेमबहादुर केसीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

आयोजकमध्येकी मोनिका रानाभाटले सरकारलाई कोभिड–१९ को व्यवस्थापन संवेदनशील र जवाफदेही बनाउने उद्देश्यले पोखराका स्वतन्त्र युवाहरू मिलेर मौन र शान्तिपूर्ण प्रदर्शन गरिएको बताइन् ।

विराटनगर संवाददाताका अनुसार विराटनगरमा युवाहरूले बिहीवार सरकारको कोरोनाविरुद्धको अभियान गलत भएको भन्दै स्वस्फूर्त रूप प्रदर्शन गरे । उनीहरूले शतप्रतिशत पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण हुनुपर्ने, १० अर्बको खर्च सार्वजनिक गर्नुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुनेपर्नेलगायत माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन्
राष्ट्रिय झण्डासहित निस्किएका युवाहरूले माक्स, ग्लोब्स लगाएर भौतिक दूरी कायम गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न माग भएको प्लेकार्ड आदि लिएर प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे ।

सरकारलाई कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा संवेदनशील तथा जवाफदेही बनाउने उद्देश्यले बिहीवार बिहानदेखि स्वतन्त्र युवाहरूको समूहले शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।
युवाहरूले प्रशासन कार्यालय प्रवेशद्वारमा देशभक्तिको गीत गाउँदै व्यङ्ग्यात्मक शैलीमा प्रहसनसमेत गरेका थिए ।

सयौंको संख्यामा उपस्थित युवाले शतप्रतिशत पीसीआर परीक्षण लागू गर, १० अर्ब खोइ रु क्वारेन्टाइनको स्थिति सुधार गर, कर केका लागि रु लगायत नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यसै गरी वीरगञ्ज संवाददाताका अनुसार कोरोना संक्रमणको उपचारलाई प्रभावकारी र पारदर्शी बनाउन माग गर्दै वीरगञ्जका युवाहरूले प्रदर्शन गरेका छन् । कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै वीरगञ्जको घण्टाघरमा बिहीवार साँझ युवाहरूले प्रदर्शन गरेका हुन् ।

सरकारले कोरोनाको उपचारमा खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब सार्वजनिक गर्न उनीहरूले माग गरे । महामारी नियन्त्रणमा सरकार पूर्ण असफल भएकाले खबरदारीका लागि युवाले स्वतःस्फूर्त रूपमा प्रदर्शन गरेको युवा अभियन्ता ओमप्रकाश सर्राफले बताए ।

चितवन संवाददाताका अनुसार लामो समयको लकडाउनका कारण सबै क्षेत्र अस्तव्यस्त बन्दै गएको भन्दै सरकारको विरोधमा चितवनमा पनि प्रदर्शन भएको छ ।

प्रदर्शनको अगुवाइ गरेकी चितवन महिला चेम्बरकी अध्यक्ष अनुषा पाठकले सरकार आम नागरिकको जीवन रक्षा र स्वास्थ्यप्रति अनुदार रहेकाले प्रदर्शन गर्नुको विकल्प नरहेको बताइन् ।

सरकार कोरोना भाइरस नियन्त्रणमा असफल भएको, स्वास्थ्य सुरक्षा सामग्रीमा भ्रष्टाचार व्याप्त भएको भन्दै प्रदर्शनकारीले आक्रोश पोखेका थिए ।

आर्थिक अभियानमा खबर छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - ०६:१३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology