Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मनसुन भित्रिन अझै केही दिन लाग्ने, मनसुनमा औसत वर्षा हुने

मनसुन भित्रिन अझै केही दिन लाग्ने, मनसुनमा औसत वर्षा हुने

दैनिकी न्यूज

२८, जेठ २०७७
मनसुन भित्रिन अझै केही दिन लाग्ने, मनसुनमा औसत वर्षा हुने
images

काठमाडौँ । नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ । “यी प्रणालीहरु विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलले भन्नुभयो ।

यसका साथै मनसुन प्रवेश गर्नका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्पष्टसँग देखिनुपर्ने हुन्छ र न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । गत वर्ष पनि १० दिन ढिलो अर्थात् ९२० जुन० मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

मनसुनमा औसत वर्षा हुने
मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरेको छ । अङ्ग्रजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एशियाका लागि मनसुन अवधि मानिन्छ । सो चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतको हाराहारीमा पानी पर्ने गर्छ । मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्र एक हजार ४९६ दशमलव सात मिलिमिटर र काठमाडौँको वार्षिक औसत वर्षा एक हजार ४५४ दशमलव आठ मिलिमिटर हो ।

मौसमविद्का अनुसार कम वर्षा हुने भन्दैमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन केही घण्टाको मुसलधारे वर्षाले पनि ठूलो प्राकृतिक प्रकोप हुनसक्छ । हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भूभागलगायत प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र प्रदेश २ का पश्चिमतिरका भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । त्यस्तै प्रदेश नं ५, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ६ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । रासस

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १७:३७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology