काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।
बुधबार मन्त्रिपरिषद्ले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बदर गरी आफूलाई पुनः आईजीपी पदमा बहाली गर्न माग गर्दै कार्की सर्वोच्च पुगेका हुन् ।
कार्कीका निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिसम्बन्धी निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पुगेको पुष्टि गरेका छन् । उनका अनुसार रिट दर्ताको प्रक्रियामा रहेको छ ।
सरकारको निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । अब कार्कीको रिटमाथि सर्वोच्च अदालतले गर्ने निर्णयले प्रहरी नेतृत्व परिवर्तनको विषयलाई थप चासोको विषय बनाएको छ ।