काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही हिमाली स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ। तराईका साथै उपत्यका र खोँचहरूमा राति तथा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
सोमबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली कायम रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।