काठमाडौँ । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी रहेको छ ।
विजयादशमीका दिन घरपरिवारका सदस्यसँग टीका लगाएपछि दोस्रो दिनदेखि टाढा रहेका आफन्त र मान्यजनकहाँ पुगेर टीका लगाउने तथा आशीर्वाद लिने प्रचलन छ । दसैँको अवसरमा आफन्तसँग भेटघाट गर्ने र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने परम्पराले पनि यस पर्वको महत्त्व बढाएको छ ।
नेपालमा दसैँको टीका लगाउने चलन स्थानअनुसार फरक छ । कतिपय ठाउँमा विजयादशमीका दिन मात्रै टीका लगाउने गरिन्छ भने धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका लगाएर आशीर्वाद लिने परम्परा छ ।