Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

राजमार्ग अवरुद्ध भएपछि उपत्यका बाहिरै एलपी ग्यास भर्ने तयारी

राजमार्ग अवरुद्ध भएपछि उपत्यका बाहिरै एलपी ग्यास भर्ने तयारी

दैनिकी न्यूज

१६, भाद्र २०८३
राजमार्ग अवरुद्ध भएपछि उपत्यका बाहिरै एलपी ग्यास भर्ने तयारी
images

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्ति सहज बनाउन उपत्यका बाहिरै ग्यास भरेर ल्याउने व्यवस्था मिलाइएको छ।

ग्यास बोकेका बुलेट कृष्णभीरको सडक हुँदै काठमाडौं आउन नसक्ने भएपछि उपत्यका तथा आसपासका जिल्लामा रहेका ग्यास उद्योगले राजधानी बाहिरका उद्योगसँग समन्वय गरेर ग्यास भर्ने भएका हुन्।

एक ग्यास उद्योगीका अनुसार नेपाल आयल निगमले समेत उद्योगीलाई उपत्यका बाहिर रहेका उद्योगमा ग्यास भर्न अनुमति दिएको छ। त्यसअनुसार उपत्यका तथा आसपासका जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भर्ने तयारी गरेका छन्।

उपत्यका र आसपासका जिल्लामा मात्रै देशमा खपत हुने कुल एलपी ग्यासको ४० प्रतिशतभन्दा बढी माग रहेको उद्योगीले बताए। कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म बाहिरी जिल्लाका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको उनको भनाइ छ।

बाहिरी जिल्लाका उद्योगमा भरिएको ग्यास त्रिभुवन राजपथलगायतका वैकल्पिक सडक प्रयोग गरी काठमाडौं ल्याइनेछ। राजधानी बाहिर रहेका उद्योगमा ग्यास भर्ने कामसमेत सुरु भइसकेकाले राजमार्ग अवरुद्ध भए पनि उपत्यका र आसपासका जिल्लामा तत्काल ग्यास अभाव नहुने उद्योगीले दाबी गरेका छन्।

images
प्रकाशित मिति :भाद्र १६, २०८३ मंगलवार - ०८:०१:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology